Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

चितवन :  चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने भएको छ । वन्यजन्तुको आहार, बासस्थान र जैविक विविधता संरक्षणलाई लक्षित गरी घाँसे मैदान तथा सिमसार क्षेत्र व्यवस्थित गर्ने कामलाई प्राथमिकतामा राखिएको हो ।

निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार लक्ष्यअनुसार १२५ हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने काम सम्पन्न भइसकेको छ भने बाँकी क्षेत्रमा व्यवस्थित गर्ने काम अघि बढिरहेको छ ।

सूचना अधिकारी तिवारीले भने, “चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने लक्ष्य रहेको छ । त्यसमध्ये १२५ हेक्टर व्यवस्थित गर्ने काम सम्पन्न भइसकेको छ भने बाँकी काम कार्यान्वयनको चरणमा छ ।”

निकुञ्जभित्र रहेका ५८ भन्दा बढी प्राकृतिक तालतलैया तथा सिमसार क्षेत्रले जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । तिनको संरक्षण तथा व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा चारवटा नयाँ पोखरी निर्माण गर्ने कार्यक्रम रहेको सूचना अधिकारी तिवारले जानकारी दिए । तीमध्ये एउटा पोखरी निर्माण सम्पन्न भएको छ भने बाँकी तीनवटा निर्माणको प्रक्रियामा रहेका छन् ।

घाँसे मैदान र सिमसार क्षेत्र व्यवस्थित गर्ने कार्यले वन्यजन्तुलाई आवश्यक आहार तथा पानीको उपलब्धता सहज बनाउनुका साथै उनीहरूको प्राकृतिक बासस्थान संरक्षणमा सहयोग पुग्ने निकुञ्जको अपेक्षा छ । विशेषगरी एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तुको संरक्षणलाई प्राथमिकतामा राखेर व्यवस्थित तथा संरक्षण कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

Siddhartha
निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार घाँसे मैदान व्यवस्थित गर्नका लागि यस वर्ष अघिल्ला वर्षको तुलनामा ठूलो कार्यक्रम आएको छ । करिब १६ सयदेखि १७ सय हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम अघि बढाउने योजना रहेको उनले बताए ।

घाँसे मैदान व्यवस्थापनसँगै वन्यजन्तु अवलोकनका लागि मचान निर्माण गर्ने योजना रहेको वरिष्ठ संरक्षण अधिकृत पुनले जानकारी दिए । निकुञ्जको पूर्वी क्षेत्र, लामिताल र सुखिभार क्षेत्रमा मचान निर्माण गर्ने योजना छ । लामिताल र सुखिभार क्षेत्रमा मचान निर्माणको तयारी भइरहेको उनले बताए । ती मचान तीन तलासम्मका हुनेछन् ।

माथिल्लो तलामा वन्यजन्तु अवलोकन गर्ने भ्यू प्वाइन्ट र तल्लो तलामा पर्यटकका लागि आराम गर्ने स्थान बनाउने योजना रहेको उनले बताए । एउटा मचान निर्माणमा करिब रु ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । अहिले त्यसको विस्तृत लागत अनुमान तयार गर्ने काम भइरहेको छ ।

मचानसँगै पोखरी तथा वाटर होल व्यवस्थापन गर्दा वन्यजन्तुको अवलोकन सम्भावना बढ्ने र पर्यटकलाई निश्चित स्थानमा बसेर वन्यजन्तु हेर्न सहज हुने उनको भनाइ छ । वन्यजन्तुलाई अनावश्यक रूपमा बाधा नपुग्ने गरी पर्यटकको गतिविधि व्यवस्थित गर्ने उद्देश्यले यस्तो संरचना निर्माण गर्न लागिएको हो । निकुञ्जले घाँसे मैदान, तालतलैया तथा सिमसार क्षेत्रको व्यवस्थापनलाई निरन्तरता दिँदै वन्यजन्तुको बासस्थान संरक्षण र पर्यापर्यटन प्रवद्र्धनलाई सँगसँगै अघि बढाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट