हुम्ला : सिमकोट गाउँपालिका– १ को धाराको उदी बस्तीका स्थानीय पहिरोले क्षति पुर् याएको घरमा बस्नुपर्ने बाध्यतामा रहेका छन्। दुई महिना अगाडि ती घरलाई पहिरोले क्षति पुर्याए पनि अन्य विकल्प नहुँदा स्थानीय तिनै घरमा बस्न बाध्य हुँदै आएका हुन्।
असोज ९ गतेबाट ११ गतेसम्म परेको भारी वर्षाले पहिरो जाँदा घरको छेउमा लगाएको ढुंगाको गाह्रो पूरै भत्काएर घरको जगलाई समेत क्षति पुर्याए पनि सोही घरमा बस्न बाध्य हुनुपरेको पीडित नर भण्डारीले बताए।
असोज १० गते राति उक्त बस्तीका घरमा सुतिरहेका बेला पहिरोले उक्त क्षति पुर् याएको थियो। स्थानीय घरको सुरक्षाका लागि आफँैले लगाएको ढुंगा र माटोको गाह्रोलाई पहिरोले भत्काएर घरको जगसम्म क्षति पुगेको उनको भनाइ छ।
यस्तो अवस्थामा भूकम्प आए घर भत्किने स्थिति छ। उक्त दिनबाट पाँच दिनसम्म केही परको छिमेकीको घरमा बास बसे पनि त्यसपछि भने तिनै पहिरोले क्षति पुर्याएको घरमा बस्नुपरेको छ।
उक्त बस्तीमा बाह्र घरधुरी छन्। भिरालो जमिन भएका कारण तीमध्ये पाँच घरधुरीलाई पहिरोले क्षति पुर्याएको छ। जग्गा–जमिनमा खेतीपाती, पशुवस्तु पालन र घाँसपात गर्नुपर्ने भएका कारण ठेहेको गाउँको घरमा नबसेर बाह्रै महिना ती बस्तीका स्थानीय उदीमै बस्दै आएका छन्। तैपनि, वर्षा र हिमपात हुँदा कति खेर के होला भन्ने चिन्ताबीच बास बस्नुपरिरहेको उनले बताए।
पहिरोले क्षति पुगेको घरमा बस्दै आएकी अर्की स्थानीय काली भण्डारीले आफ्नो सुरक्षाका लागि पनि जोखिमबाट बचाउन आवश्यक छ। उक्त घरमा बस्ने चाहना नभए पनि विकल्प नहुँदा डराई डराई बस्नुपरेको उनको भनाइ छ।
पहिरोले क्षति पुगेका घर पाँच वटा मात्र भए पनि नागरिकको सुरक्षित बासको ब्यवस्था गर्नु सरकारको कर्तव्य भएकाले आफ्नो सुरक्षामा ध्यान दिन उनले आग्रह गरे।
हरेक वर्ष कुनै न कुनै घरको अगाडि पहिरो खसिरहने समस्या छ। पहिरोले क्षति पुर् याएका घरको संरक्षण गरी आफूलाई बासको सुरक्षा दिन पीडित पक्षले गाउँपालिका, प्रदेश र संघ सरकारसँग आग्रह गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij