Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

सडक कालोपत्रले फेरियो राप्तीसोनारीका गाउँको मुहार

सडक कालोपत्रले फेरियो राप्तीसोनारीका गाउँको मुहार

बाँके : जिल्लाको राप्तीसोनारी गाउँपालिकाका भित्री ग्राभेल सडक कालोपत्र भएपछि स्थानीय खुसी भएको पाइएको छ ।दुर्गम मानिने गाउँका सडक कालोपत्र भएपछि गाउँ र बजारबीचको दूरी कम भएको स्थानीय देवदास चौधरीले जानकारी दिए । ती कालोपत्रे सडकले मुख्य राजमार्ग र हुलाकी सडकलाई जोड्न सहज भएको उनको प्रतिक्रिया छ ।स्थानीय चौधरीका अनुसार, गाउँ वा बजार आवतजावत गर्न सहज पहुँच भएको छ, सडक कालोपत्र भएपछि गाउँ पनि सुगम भएको महसुस भएको छ ।उक्त गाउँपालिका–२ स्थित कचनापुर, टीकुलीपुर माथेबास टोललगायतका सडक कालोपत्र भएसँगै ती गाउँ प्रत्यक्ष रुपमा नेपालगञ्ज र कोहलपुर बजारसँग जोडिन पुगेका हुन् ।सडक कालोपत्र भएसँगै यातायातका साधनको पहुँच वृद्धि भएको तथा बिरामीलाई अस्पतालमा ल्याउन र पु¥याउन सहज भएको वडाध्यक्ष ज्ञानराज ओलीले प्रतिक्रिया दिए । उनका अनुसार विगतमा हिँडेरै नेपालगञ्ज पुग्ने गरेकोमा अहिले अटोमार्फत गाउँबाट बजार आवतजावत हुने गरेको छ ।

वडाध्यक्ष ओलीका अनुसार, सामुदायिक वनभित्र मात्रै करिब एक किलोमिटर ८०० मिटर ग्राभेल सडक कालोपत्र भएको छ । पछिल्लो समय स्थानीय कोटही सामुदायिक वन उपभोक्ता सूमह र जनमुखी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्रका सडक कालोपत्र भएको छ ।सडक कालोपत्र भएपछि गाउँबाट उत्पादित तरकारी र अन्य बजार लगेर बेचबिखन गर्न स्थानीयलाई सहज भएको छ । पछिल्लो समय यातायात र पूर्वाधार क्षेत्रमा भएको विकासले सहर र गाउँको दूरी कम हुँदै गएको अनुभव वडाध्यक्ष ओलीले सुनाए ।सडकसँगै गाउँका कतिपय खोल्सामा निर्माण भएको पक्की पुलले कालोपत्र सडकलाई थप सुन्दर र स्थायित्व प्रदान गरेको छ ।

स्थानीय भगतराम थारुले विगतको तुलनामा सडक पूर्वाधारसँगै विद्युतीकरणले गाउँ र सहरबीचमा रहेको भिन्नता हटाएको छ ।गाउँमा खानेपानी, सडक र विद्युतीकरण विस्तार भएसँगै आधारभूत आवश्यकता सम्बोधन गर्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट