काठमाडौं : जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार गरिएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको हो ।बाजुराको बुढीनन्दा नगरपालिका–१ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत मन्त्रालयले उक्त हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुर्गम तथा स्वास्थ्य सेवाको सहज पहुँच नभएका क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँचमा पुर्याउने कार्यक्रमको उद्देश्य छ ।जोखिमपूर्ण प्रसूति अवस्थाबाट महिलाको जीवन रक्षा गर्नुका साथै मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा सहयोग पुर्याउने लक्ष्यसहित कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij