Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

किसानको बाली जोगाउन खेतमै प्रहरीको ड्युटी

किसानको बाली जोगाउन खेतमै प्रहरीको ड्युटी

झापा : झापाको बाहुनडाँगीमा जंगली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि धान काट्न जुटेका छन्।मेचीनगर नगरपालिका–४ बाहुनडाँगी क्षेत्रमा आइतबार हात्ती प्रभावित स्थान तथा सीमानाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र किसानको संयुक्त सहभागितामा धान काटिएको हो।यसअघि हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको थियो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने प्रतिबद्धता जनाउँदै किसानलाई ढिला नगरी बाली भित्र्याउन आग्रह गरेका थिए।

प्रशासनको उक्त निर्देशन र स्थानीय किसानको आग्रहअनुसार हात्ती प्रभावित क्षेत्रमा धान काटने कार्यक्रम सञ्चालन गरिएको हो। मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार हात्तीको निरन्तर आवागमनले किसानको पाकेको धानबालीमा क्षति पुग्ने जोखिम बढेपछि सबै पक्षको सहभागितामा बाली भित्र्याउने कामलाई तीव्रता दिइएको हो।‘हात्तीको जोखिमका कारण किसान आफ्नो पाकेको बाली भित्र्याउन समस्यामा छन्। त्यसैले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधि सबै मिलेर धान काट्ने अभियान सञ्चालन गरेका हौँ’, वडाध्यक्ष कार्कीले भने, ‘किसानको बाली सुरक्षित रूपमा भित्र्याउन र हात्तीबाट हुनसक्ने क्षति कम गर्न सबै पक्षबीच सहकार्य आवश्यक छ।’

हात्तीबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नुका साथै कृषि उपज जोगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ। धान काटने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दाले संयुक्त रूपमा काम गरेका थिए।यसअघि शुक्रबार बिहान बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली बाहुनडाँगी पुगेको थियो। अनुगमनका क्रममा किसानले कम्तीमा पाँच दिन हात्तीको प्रवेश नियन्त्रण गर्नसके पाकेको धान सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए।

किसानको माग सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले थप सुरक्षा जनशक्ति परिचालन गरी स्थानीय समुदायसँगको समन्वयमा हात्तीको प्रवेश नियन्त्रण गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए।प्रशासनले सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय गरेर हात्तीको आवागमन नियन्त्रण गर्ने तथा किसानलाई सुरक्षित रूपमा बाली भित्र्याउने वातावरण बनाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट