जनकपुरधाम : धनुषाको सहिदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट कुर्न बसेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा मतौनाकै स्थानीय ६० वर्षीय रामजतन यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यादव धनी पोखरीमा छठघाट निर्माण गरी आइतबार राति एक्लै कुर्न बसेको र सोमबार बिहान करिब ६ बजे उनी पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।मृतक यादवको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले काटिएको जस्तो चोट देखिएको र घटनास्थल नजिकै पोखरीको पानीमा पराल काट्ने दाउसमेत फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालको कमान्डमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको छ । डीएसपी खनालले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको र घटनास्थलबाट अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा समेत लिएको छ ।घटनामा संलग्न व्यक्तिको पहिचान तथा मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको हत्या भएको हुनसक्ने आशङ्का गरेको छ । यादवलाई स्थानीयवासीले ‘म्यानेजर’ नामले समेत बोलाउने गरेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij