Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

चितवन उवासंघमा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत निरौलालाई स्वागत

चितवन उवासंघमा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत निरौलालाई स्वागत

भरतपुर : चितवन उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय भरतपुरका नवआगन्तुक प्रमुख कर अधिकृत शरद निरौलालाई स्वागत तथा परिचयात्मक छलफल गरेको छ ।

सोमबार संघको सचिवालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले प्रमुख कर अधिकृत निरौलालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्र र कर प्रशासनबीचको सम्बन्धलाई सहज, विश्वासिलो र पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै व्यवसायीलाई दण्डात्मक अनुगमनभन्दा कर शिक्षा र सचेतनामार्फत स्वेच्छिक कर सहभागिता बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख कर अधिकृत निरौलाले राज्यको नियमअनुसार कर तिर्नु व्यवसायीको दायित्व भएको उल्लेख गर्दै कर कार्यालयले व्यवसायीको आयलाई वैधानिक र प्रमाणित गर्ने भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले प्रचलित कर नीति र कानुनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गर्न उद्यमी तथा व्यवसायीलाई आग्रह गर्नुभयो ।

संघले व्यवसायीलाई कर दाखिला तथा परामर्शमा सहजता प्रदान गर्ने उद्देश्यले आन्तरिक राजस्व कार्यालय परिसरमा सञ्चालन गरेको ‘हेल्प डेस्क’को प्रशंसा गर्दै त्यसलाई थप प्रभावकारी बनाउन कार्यालयका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य एवं संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रणाली आजको आवश्यकता भएको बताउनुभयो । कर प्रशासन सुधार र व्यवसायीमैत्री वातावरण निर्माणका लागि संघ सहकार्य गर्न सधैँ तयार रहेको उहाँको भनाइ थियो ।

श्रेष्ठले आगामी पुस २५ देखि माघ ९ गतेसम्म आयोजना हुने १६औँ संस्करणको चितवन महोत्सवबारे जानकारी गराउँदै महोत्सव सफल बनाउन प्रमुख कर अधिकृत निरौलासँग सहयोगको अपेक्षा गर्नुभयो । संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा उपाध्यक्षहरू नारायण प्रधान, जनक पौडेल र राजन पियासहित कार्यसमिति सदस्य तथा विभिन्न वस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीहरूको उपस्थिति थियो ।

संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक निलबहादुर केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट