राजेन्द्र आचार्य, चितवन : दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न माग गर्दै चितवनका दुग्ध किसानले सरकारलाई सातदिने अल्टिमेटम दिएका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले किसानको माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
संघले सोमबार पत्रकारमार्फत सरकारको ध्यानाकर्षण गराउँदै कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न माग गरेको छ । पटक–पटक सरकार र सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउँदा पनि किसानका समस्याप्रति बेवास्ता गरिएको संघको आरोप छ ।
संघका अनुसार चितवनमा हाल दैनिक करिब ३ लाख ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित दूधमध्ये करिब ५५ प्रतिशत काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र मकवानपुरलगायत जिल्लामा बिक्रीका लागि पठाइन्छ । २०७६ जेठ २९ गते चितवनलाई दुग्धमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो ।
संघले बढ्दो महँगी, पशु आहारा, स्वास्थ्य, शिक्षा, खाद्यान्न तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण किसानको उत्पादन लागत बढ्दै गएको जनाएको छ । किसानका अनुसार दूध उत्पादनमा प्रतिलिटर ५५ देखि ६० रुपैयाँसम्म लागत पर्ने गरेको छ । तर, त्यसअनुसारको मूल्य नपाउँदा पशुपालन व्यवसाय नै संकटमा परेको उनीहरूको भनाइ छ ।
संघका अध्यक्ष किशोर बगालेले किसानलाई गाई दुहुन छाडेर सडकमा आउनुपर्ने अवस्था नबनाउन सरकारसँग आग्रह गरे । आन्दोलन किसानको रहर नभई बाध्यता बन्न लागेको उल्लेख गर्दै उनले समयमै उचित मूल्य निर्धारण गर्न माग गरे ।
त्यस्तै, संघका सचिव कल्याण अधिकारीले दूधको उचित मूल्य कायम नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।
संघका अनुसार चितवनमा ९९६ वटा दुग्ध उत्पादक सहकारी संस्था आबद्ध छन् भने करिब ४० हजार किसान यस व्यवसायमा संलग्न छन् । जिल्लामा गाई तथा भैँसीपालनमार्फत दूध उत्पादन बढ्दै गए पनि किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको संघको भनाइ छ ।
राष्ट्रिय दुग्ध विकास नीति, २०७८ मा प्रत्येक दुई वर्षमा दूधको मूल्य पुनरावलोकन गर्ने व्यवस्था रहे पनि लामो समयदेखि मूल्य समायोजनका विषयमा प्रभावकारी छलफल नभएको संघले जनाएको छ । दूधको मूल्य निर्धारण संघीय सरकारले गर्ने भएकाले तत्काल हस्तक्षेप गरी किसानको माग सम्बोधन गर्न संघले आग्रह गरेको छ । संघले यसअघि असोज १४ गते पनि सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । माग पूरा नभए मंसिर ७ गतेदेखि आन्दोलन गर्ने तयारी गरिएको संघले जनाएको छ ।