Logo

Nov 14 2026 | २०८३, कार्तिक २९गते

भीमफेदी दुर्घटना : सात दिनभित्र माग सम्बोधन गर्ने सहमतिपछि शव परीक्षण गर्न आफन्त तयार

भीमफेदी दुर्घटना : सात दिनभित्र माग सम्बोधन गर्ने सहमतिपछि शव परीक्षण गर्न आफन्त तयार

मकवानपुर : भीमफेदीमा बिहीबार भएको विद्युतीय गाडी दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्तले क्षतिपूर्तिलगायत माग सात दिनभित्र सम्बोधन गर्नुपर्ने मागसहित शव परीक्षण गर्न सहमति जनाएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं दुर्घटना छानबिन समितिका संयोजक शेषकान्त पौडेलसँग भएको छलफलपछि मृतकका आफन्त शव परीक्षण गर्न सहमत भएका हुन् ।मृतक पक्षका तर्फबाट मधेस प्रदेशका पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य सञ्जयकुमार यादव, सर्लाहीको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादव तथा मृतकका आफन्तसहितको टोली छलफलमा सहभागी भएका थिए।

पूर्वअर्थमन्त्री यादवका अनुसार छलफलमा मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, दुर्घटनामा घाइते भएका तीन बालबालिकाको शिक्षा तथा पालनपोषणको व्यवस्था गर्नुपर्ने र मृतकका परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउनुपर्ने माग प्रस्तुत गरिएको थियो ।मृतक पक्षले प्रस्तुत गरेका माग छानबिन समितिमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुर्‍याई सम्बोधनका लागि पहल गर्ने आश्वासन पाएपछि शव परीक्षण गर्न सहमति जुटेको हो ।

यादवका अनुसार सहमतिपछि मृतकका शव परीक्षणका लागि उपलब्ध गराइएको छ । शव परीक्षण सम्पन्न भएपछि आफन्तले शव बुझेर घर लैजाने तयारी गरेका छन् ।यसअघि क्षतिपूर्तिलगायत माग राख्दै मृतकका आफन्तले शव परीक्षण तथा शव बुझ्ने प्रक्रियामा सहमति जनाएका थिएनन् । दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये चालकको शव परिवारले यसअघि नै बुझिसकेको थियो भने बाँकी १३ जनाको शव हेटौँडा अस्पतालमा राखिएको थियो ।दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।गत बिहीबार भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट