काठमाडौं : एक सय ५० भन्दा बढी चलचित्रको कथा लेखिसकेका तथा ‘सुश्री’, ‘पञ्चायत’ लगायतका चलचित्र निर्देशन गरिसकेका निर्देशक शिवम अधिकारी यतिबेला नयाँ चलचित्रको तयारीमा जुटेका छन्। यसपटक उनी आफ्नै कथामा आफैं निर्देशन गर्ने तयारीमा रहेको बुझिएको छ। यद्यपि चलचित्रको विषयवस्तु, विधा र कलाकारबारे औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन।पछिल्लो समय शिवम अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘केही नयाँ गर्दैछु’ भन्ने आशयका पोस्टहरू निरन्तर सार्वजनिक गरिरहेका छन्। उनका पोस्टहरूमा गायक तथा बालकलाकार अशोक दर्जीलाई समेत पटक–पटक ट्याग गरिएको देखिन्छ। यसले शिवमले अशोक दर्जीलाई लिएर नयाँ चलचित्र निर्माण गर्न लागेका हुन् कि भन्ने जिज्ञासा बढाएको छ।
शिवम अधिकारीकै लेखन रहेको चलचित्र ‘मन बिनाको धन’ बाट अशोक दर्जीले पहिलोपटक ठूलो पर्दामा अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि प्रदर्शनमा आएको चलचित्र ‘पार्वती’ मा पनि अशोक प्रमुख भूमिकामा देखिएका थिए। यी दुवै चलचित्रमा अशोकलाई जोड्ने मुख्य माध्यम शिवम अधिकारीकै लेखन बनेको थियो।यता, शिवम अधिकारीले अभिनेत्री पूजा शर्मासँगको तस्बिर सार्वजनिक गर्दै ‘बाँकी कथा मंसिर ५ गतेदेखि’ भन्ने आशयको सन्देश दिएका थिए। यसैबीच निर्मात्री मिनु शर्माले पनि पूजा शर्मालाई चलचित्रका लागि अनुबन्ध गरिएको तस्बिर सार्वजनिक गरेकी छन्। यी गतिविधिले शिवमको नयाँ चलचित्रमा पूजा शर्माको पनि भूमिका रहने संकेत गरेका छन्।
अब चलचित्र क्षेत्रमा एउटा चासोको विषय बनेको छ— शिवम अधिकारीको नयाँ चलचित्रमा पूजा शर्मा र अशोक दर्जी दुवै एकसाथ देखिन लागेका हुन् कि अशोकलाई लिएर छुट्टै चलचित्र निर्माणको तयारी भइरहेको छ ?यस विषयमा शिवम अधिकारीले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएका छैनन्। तर, उनका पछिल्ला सामाजिक सञ्जालका गतिविधिले नयाँ चलचित्रप्रति दर्शकको कौतूहल बढाएको छ।केही नयाँ र फरक विषयवस्तु लिएर आउने तयारीमा रहेका शिवमले यसपटक कस्तो कथा र कस्ता कलाकारलाई पर्दामा उतार्दैछन् ? त्यसका लागि मंसिर ५ गतेसम्म प्रतीक्षा गर्नुपर्ने देखिन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij