काठमाडौं : गत दशैंको छेकोमा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ बक्स अफिसमा असफल भयो । यस चलचित्रबाट निर्माताले डेढ करोडको घाटा व्यहोर्नुपर्यो ।चलचित्रका मुख्य अभिनेता दीपकराज गिरीले लामो स्टाटस लेख्दै चलचित्रको असफलताको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए ।यो चलचित्र हलबाट करिब उत्रिसकेको गिरीको अघिल्लो चलचित्र ‘छक्का पन्जा ४’ युट्युबमा सार्वजनिक भयो । ओएसआर मुभिजमार्फत् सार्वजनिक भएको यो चलचित्रले दुई वर्षअघि घरेलु बक्स अफिसमा १७ करोडमाथिको व्यापार गरेको थियो । यस चलचित्रको डिजिटल राइटस् गिरीको टिमले ओएसआरलाई बेचिसकेको थियो ।
उनीहरुबीचको सम्झौता अनुरूप यसपछि तिहारको छेकोमा ओएसआरले युट्युबमा चलचित्र सार्वजनिक गरेको हो । युट्युबबाट प्राप्त आम्दानी सबै ओएसआरको पोल्टामा जानेछ ।डिजिटल राइट्स अन्तर्गत गिरीको टिमले पाउनुपर्ने पैसा चलचित्र प्रदर्शनताका नै पाइसकेको छ । युट्युबमा चलचित्रले राम्रो लोभलाग्दो भ्युज बटुलिरहेको छ । चलचित्रलाई दर्शकले रुचाएपछि खुसी भएका गिरीले पनि युट्युबको लिंक फेसबुकमा सेयर गर्दै लेखेका छन्, ‘४१ घण्टामा २१ लाख भ्युज । धेरै धेरे धन्यवाद ।’तर, युट्युब तथा अन्य सामाजिक सञ्जालमा ‘छ माया छपक्कै २’को घाटाको पूर्ति ‘छक्का पन्जा ४’बाट गर्न खोजेको भन्ने आशयका कमेन्टहरूको ओइरो छ । गिरीले फेसबुकमा सेयर गरेको लिंकमुनि पनि यही आशयका कमेन्टहरू प्रशस्तै मात्रामा देखिन्छन् ।
एक प्रयोगकर्ताको कमेन्टमा गएर भने गिरीले आफैँ रिप्लाई दिएका छन् ।
उनले सबैलाई स्पष्ट पार्दै लेखेका छन्, ‘धन्यवाद । धेरैले यस्तै कमेन्ट गरेको देखेँ । त्यसैले तपाईँलाई जवाफ दिएर सबैको जिज्ञासा मेट्ने कोसिस गर्छु है त ? एक त ‘छ माया छपक्कै’मा म निर्माता नै होइन । मलाई पैसा घाटा लाग्ने भन्ने कुरै आएन । अर्को कुरा, यो फिल्मको डिजिटल राइट पनि ओएसआरको हो, जसमा मेरो अधिकार हुँदैन । त्यसैले उसैले कमाउने हो । अनि तेस्रो, मैले पाउने भनेको दर्शकको प्रतिक्रिया हो । जसले आफूलाई समय अनुसार सुधारिने मौका पाइन्छ । बस्, यही नै मेरो कमाई हो ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij