काठमाडौँ : नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी) पदबाट दानबहादुर कार्की हटाइएसँगै प्रहरीमा एउटा एआईजी पद रिक्त भएको छ । कार्कीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको ‘विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गरेको थियो । कार्कीका लागी सिर्जना गरिएको सो पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहन्छ ।कार्कीको ठाउँमा सरकारले डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । डा. केसी आईजीपी भएसँगै प्रहरीको अपराध अनुसन्धान विभाग एआईजीबिहीन भएको हो । ३४ औँ आईजीपीमा नियुक्त हुनुअघि डा. केसी अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।
बढुवा समितिको सिफारिसमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को बढुवा मन्त्रिपरिषद्ले गर्ने कानुनी व्यवस्था छ । एआईजी बढुवामा डीआईजीहरु राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोविन्द्र थपलिया र दिपेन्द्र घर्ती क्षेत्री प्रतिस्पर्धी हुन् । डीआईजीहरु सुदर्शन प्रसाद कोइराला, दीपक कुमार बस्नेत र जयराज सापकोटा पनि बढुवा हुन योग्य छन्। तर, मेरिट सूचीमा अगाडि रहेकाहरू मध्येबाट एक जना एआईजी बढुवा हुनसक्ने सम्भावना रहेको जानकारहरू बताउँछन् ।
प्रहरीमा मंसिरमा दुई वटा डीआईजीको दरबन्दी रिक्त हुँदै छ । एआईजी बढुवा भएपछि एक जना र विशेष ब्यूरोका डीआईजी विनोद घिमिरेको अवकाशसँगै अर्को एउटा पद रिक्त हुन लागेको हो । डीआईजी विनोद घिमिरे यही मंसिर २३ मा अवकाशमा जाँदै छन् । राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका घिमिरे २०५४ माघ २८ मा सेवा प्रवेश गरेका हुन् । उनी डीआईजीको ५६ वर्षे उमेरहदको कारण अवकाशमा जान लागेको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रहरी प्रधान कार्यालयको रेकर्डमा घिमिरेको जन्म मिति २०२७ साल मंसिर २४ उल्लेख छ ।
आगामी पुस ४ मा प्रहरीका ५ जना एआईजी र ४ जना डीआईजी अवकाशमा जाँदै छन् । राष्ट्रिय अनुसन्धान विभागमा २०५३ पुस ५ मा सेवा प्रवेश गरेर प्रहरीमा आएका उच्च अधिकृतहरू ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा जान लागेका हुन् । एआईजीहरु सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक सेवा निवृत्त हुन लागेका हुन् । डीआईजीहरु ओम बहादुर राना, माधव प्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा र सुरेन्द्र गुरुङ पनि पुस ४ मा अवकाशमा जाँदै छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij