इन्डोनेसिया : इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति भएको अधिकारीहरूले बताएका छन् ।
भूकम्पपछि इन्डोनेसियाली अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई अग्लो स्थानमा जान आग्रह गरेका छन् । समुद्री सतहमा उल्लेखनीय परिवर्तन नदेखिएपछि उक्त चेतावनी हटाइएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार स्थानीय समयअनुसार बिहान ५ः५८ बजे फ्लोरेस क्षेत्रमा १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गेरा प्रान्तको एन्डे सहरबाट उत्तर–उत्तरपश्चिमतर्फ ६८ किलोमिटर टाढा रहेको थियो । मुख्य भूकम्पपछि पटक–पटक परकम्पसमेत महसुस गरिएको थियो ।
पूर्वी नुसा तेङ्गाराका प्रहरी प्रमुख रुडी डार्मकोकोका अनुसार भूकम्पका कारण भवन भत्किँदा सिक्का रिजेन्सीमा दुई तथा मङ्गराई रिजेन्सीमा ३ जनाको मृत्यु भएको छ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा सञ्चार सम्पर्क प्रभावित भएकाले खोज तथा उद्धार कार्यमा कठिनाइ भएको उनले बताए । “हामी क्षति र हताहतीको विवरण सङ्कलन गरिरहेका छौँ, तर सञ्चार सम्पर्कमा अवरोध छ,” डार्मकोकोले भने ।
स्थानीय टेलिभिजनमा प्रसारित दृश्यमा भूकम्पपछि सावधानीस्वरूप अस्पतालका बिरामीलाई भवनबाहिर निकालिएको देखाइएको थियो । अस्पतालका कर्मचारीले ओछ्यान, अक्सिजन सिलिन्डर र अन्य उपकरण बाहिर सारेर आपत्कालीन उपचारका लागि अस्थायी क्षेत्र तयार गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij