Logo

Aug 11 2026 | २०८३, श्रावण २६गते

भरतपुर अस्पतालको सेवा सुधार गर्न अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण

भरतपुर अस्पतालको सेवा सुधार गर्न अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण

चितवन :  भरतपुर अस्पतालमा उपचारका लागि पुग्ने बिरामी तथा सेवाग्राहीले टिकटदेखि उपचार र रिपोर्ट लिनेसम्म लामो समय लाइनमा बस्नुपर्ने तथा भीडभाडका कारण सास्ती खेप्नुपरेको भन्दै सेवा प्रवाह सुधार गर्न माग गरिएको छ। अखिल (क्रान्तिकारी) जिल्ला समिति, चितवनले अस्पताल प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाउँदै बिरामीले भोग्दै आएको समस्या तत्काल समाधान गर्न माग गरेको हो।

चितवनसहित आसपासका जिल्लाबाट दैनिक ठूलो संख्यामा नागरिक स्वास्थ्य सेवा लिन आउने भरतपुर अस्पतालमा टिकट, ओपीडी, प्रयोगशाला, फार्मेसी र रिपोर्ट वितरणलगायतका सेवामा लामो लाइन तथा घण्टौँसम्म कुर्नुपर्ने अवस्था रहेको संगठनले जनाएको छ। सेवाग्राहीको चापअनुसार सेवा व्यवस्थापन प्रभावकारी हुन नसक्दा बिरामी र आफन्तले अनावश्यक सास्ती भोग्नुपरेको भन्दै अखिल (क्रान्तिकारी) ले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको हो।

अखिल (क्रान्तिकारी) ले बिरामीले घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवस्थित टोकन तथा लाइन व्यवस्थापन गर्न, सम्भव भएका सेवामा डिजिटल टिकट तथा अनलाइन दर्ता प्रणाली प्रभावकारी बनाउन र अस्पतालमा आवश्यक चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था गर्न माग गरेको छ। त्यस्तै, प्रयोगशाला, एक्स–रे तथा अल्ट्रासाउन्डलगायत निदानात्मक सेवामा हुने ढिलाइ अन्त्य गर्न, फार्मेसी तथा औषधि वितरण प्रणाली व्यवस्थित गर्न, आकस्मिक कक्षमा बिरामीलाई प्राथमिकताका आधारमा छिटो उपचार उपलब्ध गराउन तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलालाई प्राथमिकताका साथ सेवा दिने व्यवस्था मिलाउन माग गरिएको छ।

अस्पतालमा उपलब्ध सेवा, शुल्क तथा प्रक्रियाबारे स्पष्ट सूचना उपलब्ध गराउन र बिरामी तथा सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न प्रभावकारी गुनासो सुनुवाइ संयन्त्र स्थापना गर्नसमेत संगठनले माग गरेको छ। अखिल (क्रान्तिकारी) जिल्ला समिति, चितवनका अध्यक्ष सुशील कार्की ‘अब्दुल’ ले अस्पतालमा आउने नागरिक उपचारका लागि आउने भएकाले सास्ती भोग्नुपर्ने अवस्था तत्काल अन्त्य गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट