काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने प्रयास जारी रहेको बताएका छन्। काठमाडौँमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेकपा एमालेसँग तीनबुँदे र नेकपा मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारिएको जानकारी दिए। अन्य कम्युनिष्ट समूहसँग पनि निरन्तर छलफल भइरहेको उनको भनाइ छ।
विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकता प्रयास भए पनि त्यसलाई टिकाउन नसकिएको प्रचण्डले बताए। एक पटक असफल हुँदैमा एकताको प्रयास त्याग्न नहुने भन्दै उनले कम्युनिष्ट एकताको अभियानलाई अझ तीव्र बनाउने बताए।
‘एक पटक असफल भयो भन्दैमा फेरि प्रयास नै नगर्ने भन्ने हुन सक्दैन। हामी अहिले पनि कम्युनिष्ट एकताको झण्डालाई अझ माथि उठाउने लक्ष्यसहित अघि बढेका छौँ,’ उनले भने।
प्रचण्डले विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै सहकार्य तथा कार्यगत एकतालाई विस्तार गर्नुपर्नेमा जोड दिए।
शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिसँग पनि संयुक्त मोर्चा निर्माणका लागि छलफल भइरहेको प्रचण्डले बताए। शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्यका लागि संवाद सकारात्मक रूपमा अघि बढिरहेको उनको भनाइ छ।
प्रचण्डले अन्तर्राष्ट्रिय शक्तिसँगको संवाद र सम्बन्ध विस्तारमा विगतमा कमजोरी भएको स्वीकार गर्दै बदलिँदो विश्व परिस्थितिमा नेपालको भूमिका प्रभावकारी बनाउन पहल भइरहेको पनि बताए। दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय संरचना र मान्यताहरू कमजोर हुँदै गएको तथा नयाँ संरचना निर्माणका लागि विश्वमा ध्रुवीकरण बढिरहेको उनले उल्लेख गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij