Logo

Nov 28 2026 | २०८३, मंसिर १३गते

कराँचीमा ६ तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

कराँचीमा ६ तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

कराँची :  पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा छ तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । भग्नावशेषबाट शनिबार थप चार जनाको शव निकालिएपछि मृतकको सङ्ख्या बढेको उद्धार अधिकारीहरूले बताएका छन् । कम्तीमा आठ जना अझै बेपत्ता रहेको जनाइएको छ ।

सिन्ध प्रान्तको कराँचीस्थित बालोच कोलोनीमा बुधबार निर्माणाधीन छ तले भवन भत्किएको थियो । सुरुमा घटनामा तीन जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएका थिए । बिहीबार थप एक जनाको शव निकालिएको थियो भने शुक्रबार चार जनाको शव भेटिएपछि मृतक सङ्ख्या आठ पुगेको थियो । शनिबार थप चार जनाको शव निकालिएसँगै मृतक सङ्ख्या १२ पुगेको हो ।

भग्नावशेषमा पुरिएकाहरूको खोजीका लागि उद्धार टोलीले भारी मेसिन तथा विशेष उपकरण प्रयोग गरिरहेको छ । भग्नावशेषमा अझै मानिस पुरिएको हुन सक्ने भएकाले उद्धारकर्मीले सावधानीपूर्वक खोजी गरिरहेका छन् ।

यसअघि शुक्रबार करिब ५४ घण्टासम्म भग्नावशेषमा पुरिएका २८ वर्षीय मोहम्मद आदिललाई जीवितै उद्धार गरिएको थियो । उद्धारपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

घटनापछि सिन्धका मुख्यमन्त्री मुराद अली शाहले तीन अधिकारीलाई पदबाट हटाउन, १६ कर्मचारीलाई निलम्बन गर्न र घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन् । निर्माणमा कमसल सामग्री प्रयोग गरेको आरोपमा भवनका मालिक, निर्माणकर्ता, वास्तुकार तथा संरचनागत इन्जिनियरसहितका व्यक्तिविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट