चितवन : वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको उपनिर्देशकमा मेडिकल अंकोलोजी विभागका विभागीय प्रमुख तथा कन्सल्टेन्ट डा. गुरुशरण साह नियुक्त हुनुभएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यको सिफारिसमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. योगेन्द्रप्रसाद सिंहले आज डा. साहलाई उपनिर्देशक पदमा नियुक्त गर्नुभएको हो ।अस्पतालमा कार्यरत कन्सल्टेन्ट विभागीय प्रमुख वा सिनियर कन्सल्टेन्टमध्येबाट उपनिर्देशक नियुक्त गर्ने व्यवस्थाअनुसार उहाँलाई उक्त जिम्मेवारी दिइएको हो । डा. साह विगत १३ वर्षदेखि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत हुनुहुन्छ । अस्पतालको मेडिकल अंकोलोजी विभागको नेतृत्व गर्दै आउनुभएका उहाँ अब अस्पतालको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्वमा समेत जोडिनुभएको छ ।
डा. साह क्यान्सर रोगको औषधीय उपचारका विशेषज्ञ हुनुहुन्छ । उहाँले एमबीबीएसपछि चीनको झेङझाउ विश्वविद्यालयबाट सन् २०१३ मा इन्टरनल मेडिसिन (अंकोलोजी) मा एमडी गर्नुभएको हो । उहाँको अनुसन्धान क्यान्सरको उपचारसँग सम्बन्धित विषयमा केन्द्रित थियो ।सन् २०१४ मा राष्ट्रिय अस्पताल तथा क्यान्सर अनुसन्धान केन्द्रमा मेडिकल अंकोलोजी विभागको रजिस्ट्रारका रूपमा काम गर्नुभएका साह त्यसपछि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आबद्ध हुनुभएको थियो । उहाँसँग १५ वर्षभन्दा बढीको चिकित्सकीय अनुभव रहेको उहाँको व्यावसायिक विवरणमा उल्लेख छ ।
अस्पतालमा रहँदा उहाँले मेडिकल अंकोलोजी विभागको नेतृत्व गर्नुका साथै क्यान्सर उपचार सेवालाई विस्तार र प्रभावकारी बनाउने काममा भूमिका निर्वाह गर्दै आउनुभएको छ । विशेषगरी बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने प्रक्रियामा समेत उहाँको योगदान रहेको छ । चीन सरकारको सहयोगमा अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने कार्यमा उहाँले संयोजनकारी भूमिका निर्वाह गर्नुभएको छ ।
डा. साह चिकित्सा तथा क्यान्सर उपचारसम्बन्धी व्यावसायिक संस्थाहरूमा समेत सक्रिय हुनुहुन्छ । उहाँ नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा काम गरिसक्नुभएको छ । त्यसैगरी नेपाल मेडिकल अंकोलोजी सोसाइटीको महासचिव तथा सार्क फेडेरेसन अफ अंकोलोजिस्ट्स–नेपालको उपाध्यक्षका रूपमा पनि उहाँ आबद्ध रहनुभएको छ ।क्यान्सर उपचारमा देखिएका चुनौती, विशेषज्ञ जनशक्तिको आवश्यकता र उपचार सेवालाई देशव्यापी बनाउने विषयमा समेत उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन र अनुसन्धानमूलक गतिविधिमा सहभागिता जनाउँदै आउनुभएको छ । उहाँका क्यान्सर उपचार तथा बिरामीको मनोसामाजिक अवस्थासम्बन्धी अनुसन्धानमूलक लेखहरू चिकित्सा क्षेत्रमा प्रकाशित छन् ।
उपनिर्देशकको जिम्मेवारीसँगै अब डा. साहले अस्पतालको चिकित्सकीय सेवा, विभागीय समन्वय, जनशक्ति व्यवस्थापन तथा संस्थागत कार्यसम्पादनलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने कान्तिपुर हेल्थलाई बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij