काठमाडौँ : नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा भनिएजस्तो डिपार्चर हुन नसकेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शाहको दुई दिने भारत भ्रमणको क्रममा सोमबार भएको दुई पक्षीय सम्झौतालाई लिएर सचिव भट्टराईले भ्रमण विगतकै निरन्तरतामा सीमित भएको बताएका हुन् ।भ्रमणका क्रममा विगतमा सुरु भएका आयोजनाहरूको वार्ता भई शिलान्यास हुने र पूरा भएका आयोजनाहरूको उद्घाटन गर्ने विषय नै प्राथमिकतामा परेको भट्टराईले उल्लेख गरे । भ्रमणमा दुई खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग घोषणा हुनु सकारात्मक पक्ष भएको बताउँदै उनले आर्थिक समस्या रहेको वर्तमान अवस्थामा यसलाई राम्रो मान्न सकिने धारणा राखे ।
यद्यपि, उक्त सहयोग ऋण हो वा अनुदान भन्ने स्पष्ट नपारिएको उनको भनाइ छ । विगतमा पनि यस्ता धेरै घोषणा भए पनि अपेक्षाअनुसार कार्यान्वयन नभएको स्मरण गर्दै उनले यस पटकको घोषणाको उपयोग र कार्यान्वयन होस् भनी शुभकामना व्यक्त गरे ।भट्टराईले क्रिकेट क्षेत्रमा क्रमशः सहकार्य गर्ने र नेपालमा शाखा खोल्नेजस्ता नयाँ क्षेत्रका विषय युवाहरूको चाहना र आवश्यकता अनुरूप सकारात्मक रहेको बताए । तर, त्यस बाहेकका अन्य कार्यक्रमहरू विगतकै निरन्तरता रहेको उनको टिप्पणी छ ।
झन्डै दुई तिहाइको म्यान्डेट लिएर भारत गएका प्रधानमन्त्रीले नेपालका लामो समयदेखि थाँती रहेका मुद्दाहरूलाई प्राथमिकतामा नराखेको भट्टराईले उल्लेख गरे । संसद्ले समेत सर्वसम्मत रूपमा पारित गरेका एयर रुट (हवाई मार्ग), जलस्रोत, विद्युत् व्यापार र सीमासम्बन्धी जल्दाबल्दा विषयहरू भ्रमणमा समेटिन नसकेको उनको भनाइ छ । त्यस्तै, तराई क्षेत्रका प्रधानमन्त्री भएर पनि त्यहाँका जनताले भोग्दै आएको डुबानको समस्या प्राथमिकतामा नपरेको उनले बताए ।‘विगतको भारी बोक्दिनँ भन्ने तर विगतमै अगाडि बढेका सबै आयोजनाहरू उद्घाटन गर्ने कार्यले प्रधानमन्त्रीको भनाइ र गराइबीच तालमेल नमिलेको भट्टराईको टिप्पणी छ ।
‘झन्डै दुई तिहाइको म्यान्डेट लिएर गएका प्रधानमन्त्रीले नेपालको लामो समयदेखि थाँती रहेका मुद्दाहरू एयर रुट, जलस्रोत, विद्युत् व्यापारका समस्या, सीमा सम्बन्धी समस्या विषय हाम्रा जल्दोबल्दो विषय हो’, भट्टराईले भने, ‘संसद्ले सर्वसम्मत रूपमा पारित गरेका विषय हुन् ।त्यस्तै डुबानको विषय तराईका प्रधानमन्त्री भएर त्यहाँका जनताले भोगेका डुबानका विषय प्राथमिकतामा नपरेको देख्दाखेरि उहाँहरूले जति डिपार्चर भनिए पनि त्यो देखिएन । विगतको भारी बोक्दिन भन्ने अनि विगतमा अगाडि बढेका सबै आयोजनाहरू उद्घाटन गर्ने उहाँहरूको भनाइ र गराइबिच तालमेल मिलेन ।’ हिजो आफू मेयर हुँदा सीमा लगायत नेपालका विषयमा प्रधानमन्त्री शाहले जुन अवधारणा बोक्नुभएको थियो, अहिले त्यसको छेउमा समेत पुग्न नसकेको उनले प्रतिक्रिया दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij