काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नदीहरूमा स्वच्छ ऊर्जाको अपार सम्भावना रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले भारतको विशाल ऊर्जा बजारले उक्त सम्भावनालाई नेपालको आर्थिक समृद्धिको बलियो आधार बनाउन सक्ने बताए । सोमवार नयाँ दिल्लीमा सोमबार आयोजित दुई देशबिचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् । प्रधानमन्त्री मोदीले नेपालको जलविद्युत् र स्वच्छ ऊर्जाको सम्भावनामाथि जोड दिए ।
प्रधानमन्त्री मोदीले जलविद्युत् सहकार्यलाई नेपाल–भारत आर्थिक साझेदारीको मुख्य कडीका रूपमा प्रस्तुत गरे । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भने,‘नेपालका नदीहरूमा स्वच्छ ऊर्जाको अपार सम्भावना छ । भारतको विशाल ऊर्जा बजारले यी सम्भावनाहरूलाई नेपालको आर्थिक समृद्धिको एक बलियो आधार बनाउन सक्छ ।’नेपाल–भारत ऊर्जा सहकार्यलाई थप उचाइमा पुर्याउँदै प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले सोमबार नयाँ दिल्लीबाटै डिजिटल माध्यममार्फत ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास भएको छ ।
तल्लो अरुणको शिलान्यास र अरुण तेस्रो समयमै सक्ने प्रतिबद्धता
संयुक्त पत्रकार सम्मेलनअघि नेपालका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले डिजिटल माध्यमबाट संयुक्त रूपमा बटन थिचेर नेपालको कोशी प्रदेशमा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास भएको छ । तल्लो अरुणको शिलान्याससँगै अरुण तेस्रो जलविद्युत् आयोजनालाई समेत समयमै सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याउँदै मोदीले भने, ‘आज लोअर अरुण (तल्लो अरुण) जलविद्युत् आयोजनाको शिलान्यास र अरुण तेस्रोलाई समयमै पूरा गर्ने हाम्रो प्रतिबद्धता यही दृष्टिकोण (भिजन) को हिस्सा हो ।’ दुवै देश मिलेर नेपालको जलविद्युत्लाई स्वच्छ ऊर्जा र साझा समृद्धिमा रूपान्तरण गरिरहेको उल्लेख गरे ।
भारतीय लगानीकर्तालाई प्रधानमन्त्री शाहको स्वागत
सोही अवसरमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले दुवै देशको आर्थिक समृद्धिमा साझेदारी गर्न भारतीय लगानीकर्ताहरूलाई नेपालमा न्यानो स्वागत गरिने बताए । प्रधानमन्त्री शाहले आज भएका समझदारी र अगाडि बढाइएका परियोजनाहरूले युवाहरूका लागि रोजगारी र अवसर तथा उद्यमीहरूका लागि लगानी र व्यवसाय विस्तारको ठोस मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिए ।स्वच्छ जलस्रोत र हिमाली नदीनालाको महत्त्व उल्लेख गर्दै शाहले भने, ‘स्वच्छ पानीको स्रोतका रूपमा रहेका हाम्रा हिमालहरूले यस क्षेत्रका करोडौँ मानिसलाई जीवन दिएका छन् । हिमालयबाट बगेर गङ्गामा मिसिने निर्मल नदीहरूले हाम्रो साझा भविष्य र गन्तव्यको स्मरण गराउँछन् ।’
उनले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न दुवै देशबिच सामूहिक सहकार्य अपरिहार्य रहेको पनि औँल्याए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij