Logo

Nov 23 2026 | २०८३, मंसिर ८गते

क्यान्सर उपचारलाई प्रभावकारी बनाउन देशभरका नर्सलाई अंकोलोजी तालिम दिनुपर्नेमा जोड

क्यान्सर उपचारलाई प्रभावकारी बनाउन देशभरका नर्सलाई अंकोलोजी तालिम दिनुपर्नेमा जोड

चितवन : क्यान्सर रोगको उपचार र बिरामीको हेरचाहलाई थप प्रभावकारी बनाउन देशभरका नर्सहरूलाई अंकोलोजी नर्सिङ (क्यान्सरसम्बन्धी नर्सिङ सेवा) तालिम दिनुपर्नेमा जोड दिइएको छ । चिकित्सकहरूको विशेषज्ञता विस्तार हुँदै गएसँगै नर्सिङ क्षेत्रमा पनि विषयगत विशेषज्ञता विकास गर्नुपर्ने र त्यसको नेतृत्व वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नर्सिङ कलेजको आठौँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. योगेन्द्रप्रसाद सिंहले क्यान्सर बिरामीको गुणस्तरीय उपचार र हेरचाहका लागि अंकोलोजी नर्सिङको दायरा फराकिलो बनाउनुपर्ने बताउनुभयो ।

उहाँले चिकित्सकहरू विभिन्न विधामा विशेषज्ञ बन्दै गएको अवस्थामा नर्सहरूलाई पनि विशेष विषयमा दक्ष बनाउनुपर्ने बताउँदै क्यान्सर उपचारमा नर्सहरूको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । हाल क्यान्सर अस्पतालको नर्सिङ कलेजमा अंकोलोजी नर्सिङसम्बन्धी अध्ययन तथा तालिम हुँदै आएको भए पनि त्यसलाई अस्पतालमा मात्र सीमित नराखी देशव्यापी बनाउनुपर्ने उहाँको भनाइ थियो ।“क्यान्सरको केयर यहाँ मात्रै होइन, काठमाडौं, पोखरा, विराटनगरलगायत देशका धेरै भागमा आवश्यक छ । त्यसैले सबै तिरका नर्सहरूलाई अंकोलोजी तालिम आवश्यक छ,” उहाँले भन्नुभयो ।

क्यान्सरका बिरामीले उपचारका क्रममा गुणस्तरीय र विशेषज्ञतापूर्ण नर्सिङ सेवा पाउन अस्पताल आफैँले नेतृत्व लिएर विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने अध्यक्ष प्रा.डा. सिंहले बताउनुभयो । क्यान्सर उपचारका लागि अस्पतालमा चिकित्सकको विशेषज्ञता मात्र पर्याप्त नहुने भन्दै बिरामीको निरन्तर हेरचाहमा संलग्न नर्सहरू पनि विषयगत रूपमा दक्ष हुनुपर्ने उहाँको जोड थियो ।अध्यक्ष सिंहले हाल नर्सिङ कलेजमा स्नातक तहको मात्र पढाइ भइरहेको उल्लेख गर्दै स्नातकोत्तर तहसम्मको अध्ययनको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उच्च तहको अध्ययन र विशेषज्ञता विकासले क्यान्सर उपचारमा दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका डिन सहप्राध्यापक डा डमरु प्रसाद पनेरुले क्यान्सर अस्पतालले नर्सिङ शिक्षासँगै क्यान्सर रोगसँग सम्बन्धित अन्य शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालयसँग सहकार्य गरेर क्यान्सर उपचार, अनुसन्धान र जनशक्ति विकाससँग सम्बन्धित थप शैक्षिक कार्यक्रम अघि बढाउन सकिने उहाँले उल्लेख गर्नुभयो ।“विश्वविद्यालयसँग सहकार्य गर्दै क्यान्सरसँग सम्बन्धित अरू शैक्षिक कार्यक्रम पनि यहाँ सञ्चालन गर्नुपर्छ,” डा. पनेरुले भन्नुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका संस्थापक प्रमुख एवं अस्पतालका नर्सिङ विभाग प्रमुख सरोजिना शर्मा, नर्सिङ कलेज प्रमुख लक्ष्मी न्यौपानेलगायतले नर्सिङ शिक्षाको विकास, कलेजको शैक्षिक उपलब्धि र दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्‍याएको योगदानबारे धारणा राख्नुभएको थियो ।वार्षिकोत्सवका अवसरमा कलेजको स्मारिका पनि विमोचन गरिएको थियो । कार्यक्रममा कलेजको चौथो र पाँचौँ ब्याचका ८५ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने २१ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । उनीहरूलाई पोखरा विश्वविद्यालयले डिन लिस्टमा समावेश गरेको थियो । शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई सम्मान गर्दै कलेजले अध्ययन र व्यावसायिक दक्षतामा थप प्रोत्साहन गरेको हो ।

औपचारिक समारोहपछि वार्षिकोत्सवमा पहिलो पटक  निरन्तर नर्सिङ शिक्षा (कन्टिन्यूइङ नर्सिङ एजुकेसन) कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । तीन घण्टासम्म चलेको उक्त प्रशिक्षण कार्यक्रममा नेपाली तथा चिनियाँ विज्ञहरूले नर्सहरूलाई प्रशिक्षण दिनु भएको थियो । । अस्पतालमा कार्यरत करिब ८५ प्रतिशत नर्सहरूको सहभागिता रहेको कार्यक्रममा व्यावसायिक ज्ञान, सीप र सेवाको गुणस्तर अभिवृद्धिमा जोड दिइएको थियो ।

वार्षिक ४० विद्यार्थी भर्ना, पाँच ब्याचका जनशक्ति कार्यक्षेत्रमा

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नर्सिङ कलेजमा वार्षिक ४० जना विद्यार्थी भर्ना गर्ने क्षमता रहेको छ । हाल कलेजमा आठौँ ब्याचसम्मको अध्ययन सञ्चालन भइरहेको छ । पाँचौँ ब्याचसम्मका विद्यार्थीले अध्ययन पूरा गरी कार्यक्षेत्रमा प्रवेश गरिसकेका छन् ।क्यान्सर उपचारका लागि आवश्यक विशेषज्ञ नर्सिङ जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित कलेजले पछिल्लो आठ वर्षदेखि नर्सिङ शिक्षा प्रदान गर्दै आएको छ । कलेजबाट उत्पादित जनशक्तिले क्यान्सर अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा सेवा प्रदान गर्ने अवसर पाएका छन् ।

क्यान्सर रोगको पहिचान, उपचार, शल्यक्रिया, केमोथेरापी तथा रेडियोथेरापीजस्ता उपचार प्रक्रियामा नर्सहरूको भूमिका महत्वपूर्ण हुन्छ । उपचारका क्रममा बिरामीको स्वास्थ्य अवस्था निगरानी, औषधि व्यवस्थापन, संक्रमण नियन्त्रण, उपचारपछिको हेरचाह र मनोसामाजिक सहयोगमा समेत नर्सहरू प्रत्यक्ष संलग्न हुन्छन् ।नेपालमा क्यान्सर उपचार सेवा विस्तार हुँदै जाँदा विशेषज्ञ नर्सिङ जनशक्तिको आवश्यकता पनि बढ्दै गएको छ । यस्तो अवस्थामा क्यान्सर अस्पतालको नर्सिङ कलेजले उत्पादन गर्ने जनशक्तिलाई अझ विशेषज्ञ बनाउने, स्नातकोत्तर तहको अध्ययन सुरु गर्ने र देशका अन्य स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूलाई समेत अंकोलोजीसम्बन्धी तालिम दिने विषयलाई प्राथमिकतामा राख्नुपर्नेबारेमा कार्यक्रममा जोड दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट