Logo

Nov 22 2026 | २०८३, मंसिर ७गते

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

उदयपुर : जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा स्थानीय विद्यालयमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा परीक्षण गरिएका एक हजार ४०० मध्ये १५० जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका तथा सर्वसाधारणलाई लक्षित गरी नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल लहानको समन्वयमा तीनदिने शिविर सञ्चालन गरिएको थियो ।नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उपेन्द्र कार्कीका अनुसार शनिबार सम्पन्न शिविरमा एक हजार ४०० जनालाई आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो । ती सेवाग्राहीमध्ये ८०५ जना विद्यार्थी र अरू अभिभावक, शिक्षकशिक्षिका तथा स्थानीय सर्वसाधारण हुन् ।

शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामीलाई आवश्यकताअनुसार चस्मा वितरण तथा शल्यक्रियाको प्रबन्ध पनि गरियो । चस्माबाट दृष्टिमा सुधार नहुने बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि चौधरी आँखा अस्पताल लहान पठाउने सिफारिस गरिएको छ । उहाँका अनुसार २१ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको छ ।शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीमध्ये बिहीबार र शुक्रबार गरी ६९ जनालाई शल्यक्रियाका लागि लहान पठाइएको छ । पहिलो र दोस्रो दिन पहिचान भएका ३५ जनाको शुक्रबार नै शल्यक्रिया सम्पन्न भएको छ । शल्यक्रिया गर्न बाँकी तथा अन्तिम दिन पहिचान भएका ३४ जनालाई शुक्रबार अस्पताल पठाइएको नगरपालिकाले जनाएको छ ।

बाँकी ५१ जना बिरामीलाई पनि आइतबारसम्म शल्यक्रिया गर्ने व्यवस्था गरिएको प्रमुख कार्कीले जानकारी दिनुभयो । चौधरी आँखा अस्पताल लहानका चिकित्सक डा विनय कामतको नेतृत्वमा आँखा टोली विद्यालयमै आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेपछि विद्यार्थी, अभिभावक र स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाएको विद्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij