Logo

Nov 22 2026 | २०८३, मंसिर ७गते

बिरामीसँगै प्रत्यक्ष संवाद गर्दै स्वास्थ्य मन्त्री तामाङले गरे सिन्धुली अस्पतालको निरीक्षण

बिरामीसँगै प्रत्यक्ष संवाद गर्दै स्वास्थ्य मन्त्री तामाङले गरे सिन्धुली अस्पतालको निरीक्षण

 सिन्धुली : बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरिबहादुर तामाङ (ज्ञानुजंग लामा) ले सिन्धुली अस्पतालको स्थलगत निरीक्षण गरेका छन्। अस्पतालले नागरिकलाई प्रदान गर्दै आएको स्वास्थ्य सेवा, उपलब्ध सुविधा, उपचार व्यवस्था तथा सेवा प्रवाहका क्रममा देखिएका समस्या र चुनौतीबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले मन्त्री तामाङ अस्पताल पुगेका हुन्। निरीक्षणका क्रममा उनले अस्पतालका विभिन्न सेवा कक्ष तथा उपचार कक्षको अवलोकन गर्नुका साथै उपचाररत बिरामीहरूसँग प्रत्यक्ष भेटघाट र संवाद गरेका थिए। बिरामीसँगको कुराकानीमा उनले उपचार सेवा कस्तो पाइरहनुभएको छ, औषधि तथा आवश्यक स्वास्थ्य सुविधा सहज रूपमा उपलब्ध छन् कि छैनन् र उपचारका क्रममा कुनै समस्या भोग्नुपरेको छ कि छैन भन्ने विषयमा जानकारी लिएका थिए।

बिरामीका अनुभव, गुनासा र सुझाव सुन्दै मन्त्री तामाङले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकतामध्ये प्रमुख भएकाले यसको पहुँच र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए। अस्पतालबाट प्रवाह हुने सेवा नागरिकले सहज, सुलभ र प्रभावकारी रूपमा प्राप्त गर्नुपर्ने उनको भनाइ थियो। उनले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा, जनशक्ति, औषधि, स्वास्थ्य उपकरण तथा नागरिकले प्राप्त गरिरहेका निःशुल्क स्वास्थ्य सुविधाको अवस्थाबारे पनि जानकारी लिएका थिए। साथै अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीसँग सेवा प्रवाहमा देखिएका समस्या, स्रोतसाधनको अवस्था र सुधार गर्नुपर्ने विषयमा छलफल गरेको मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार राजु भण्डारीले जानकारी गराए । मन्त्री तामाङले प्रदेश सरकार मातहतका अस्पतालबाट नागरिकले प्राप्त गर्ने निःशुल्क स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन आफूले प्राथमिकता दिएको बताए।

अस्पतालको वास्तविक अवस्था कागजी विवरणबाट मात्रै नभई स्थलगत रूपमा अवलोकन र सेवाग्राहीसँग प्रत्यक्ष संवाद गरेर बुझ्नुपर्ने उनको धारणा थियो। मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाको अवस्था बुझ्न आफूले स्थलगत निरीक्षणलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई जारी राख्ने बताए।निरीक्षणका क्रममा सिन्धुली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सतिशचन्द्र ढकाल, अस्पतालका निमित्त निर्देशक डा. शुसान्त कुमार खड्का र अस्पताल व्यवस्थापक विमल श्रेष्ठले अस्पतालको समग्र अवस्था, सेवा प्रवाह, उपलब्ध जनशक्ति तथा भौतिक पूर्वाधारबारे मन्त्री तामाङलाई जानकारी गराएका थिए। उनीहरूले अस्पतालले सेवा प्रवाहका क्रममा भोगिरहेका समस्या, स्रोतसाधनको अभाव तथा व्यवस्थापकीय चुनौतीबारे समेत अवगत गराएका थिए।

अस्पतालको सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी आवश्यक सुधारका लागि पहल गर्ने र नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको मन्त्री तामाङले बताए। अस्पतालको अवस्था बुझ्ने क्रममा बिरामीकै शय्यामा पुगेर उनीहरूको अनुभव र गुनासा सुन्ने मन्त्री तामाङको निरीक्षणलाई स्वास्थ्य सेवा सुधारका लागि सेवाग्राहीको आवाज प्रत्यक्ष सुन्ने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट