काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा लामो समयदेखि अल्झिएका राष्ट्रिय हितका विषय टुंग्याउन सरकारलाई सुझाव दिएका छन्।
शनिवार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित प्रथम स्थापना दिवस कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर आयोजना कार्यान्वयन, टनकपुर ब्यारेजबाट सिंचाईका लागि पानी छाड्ने, विद्युत व्यापारको बजार पहुँच विस्तार गर्ने र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुटको स्वीकृति प्राप्त गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
घिसिङले महाकाली सन्धि भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर आयोजना कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै त्यसका लागि आवश्यक विषय टुंग्याउन प्रधानमन्त्रीलाई सुझाव दिए।
पञ्चेश्वर आयोजना कार्यान्वयनले नेपाललाई दीर्घकालीन लाभ पुग्ने उनको भनाइ छ। त्यस्तै, पञ्चेश्वर सन्धिअन्तर्गत टनकपुरबाट पश्चिम नेपालका विभिन्न क्षेत्रमा सिंचाईका लागि पानी उपलब्ध गराउने विषय पनि टुंग्याउनुपर्ने उनले बताए।
उनकाअनुसार करिव २८ किलोमिटर सिंचाई नहर निर्माण भइसके पनि टनकपुर ब्यारेजबाट पानी छाडिएको छैन। आफू मन्त्री हुँदा पनि पटक–पटक यस विषयमा पहल गरेको स्मरण गर्दै घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा टनकपुरबाट पानी छाड्ने कामको उद्घाटन हुनसके सुदूरपश्चिमको कृषि तथा सिँचाइ क्षेत्रमा योगदान पुग्ने बताए।
घिसिङले विद्युत व्यापारलाई पनि भारत भ्रमणको महत्वपूर्ण एजेण्डा बनाउनुपर्नेमा जोड दिए। नेपालको विद्युत कहिले बढी भएर खेर जाने र कहिले अपुग हुने अवस्था रहेको उल्लेख गर्दै उनले भारत र बंगलादेशको बजारमा विद्युत्को पहुँच थप सहज बनाउन आवश्यक रहेको बताए।
भारत, बंगलादेश र भुटानलगायत क्षेत्रीय बजारमा विद्युत व्यापारका लागि विगतमा भएका प्रयासलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ छ। नेपालको विद्युत व्यापार विस्तारका लागि बजार पहुँच र त्यससम्बन्धी सहमति टुंग्याउनुपर्नेमा उनले जोड दिए।
त्यसैगरी, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा अन्तर्राष्ट्रिय उडानका लागि उपयोग गर्न आवश्यक हवाई रुटसम्बन्धी सहमति भारतबाट प्राप्त गर्नुपर्ने घिसिङले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij