भरतपुर : चाडपर्वको रौनकसँगै चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । तिहारको लामो बिदा मनाउन निस्किएका आन्तरिक र अनुकूल मौसमको खोजीमा रहेका विदेशी पर्यटकको आगमनले यतिबेला सौराहा गुल्जार बनेको हो । गर्मी क्रमशः घट्दै जानु र शीतल मौसम सुरु हुनुले जङ्गल सफारी तथा बाहिरी गतिविधि गर्न सहज भएको छ । बिदा र मौसमको यही सुखद संयोगले परिवार तथा साथीभाइसँग घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा सौराहा परेको पर्यटन व्यवसायीहरूको अनुमान छ ।
रेष्टुरेण्ट तथा बार एशोसियसन (रेवान) सौराहाका अध्यक्ष शम्भु प्रसाद मालीकाअनुसार हाल सौराहामा दैनिक १५ देखि २० हजारको हाराहारीमा पर्यटक भित्रिरहेका छन् । ‘अहिले सौराहा पूरै प्याक छ,’ अध्यक्ष माली भन्नुहुन्छ, ‘सौराहा आउने सबै बास बस्छन् भन्ने त छैन, हात्ती चढ्ने, जङ्गल सफारी गर्ने र खानपान गरेर फर्किनेहरू पनि उत्तिकै छन् । यी सबै गरेर दैनिक १५ देखि २० हजार पर्यटक आइरहेका छन् ।’
महेन्द्र राजमार्गबाट नजिकै र सहज सडक पहुँच भएकाले पनि छोटो बिदामा परिवार तथा साथीभाइसँग घुमफिर गर्ने आन्तरिक पर्यटकको रोजाइमा सौराहा परेको हो । अध्यक्ष मालीका अनुसार अहिले सौराहा पुग्नेमध्ये अधिकांश आन्तरिक पर्यटक छन् भने बाह्य पर्यटकमा चिनियाँ नागरिकको सङ्ख्या उल्लेख्य छ ।
चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको सौराहाको मुख्य आकर्षण दुर्लभ वन्यजन्तु अवलोकन, हात्ती सयर र जङ्गल सफारी नै हो । यसका अलावा राप्ती नदीमा ढुङ्गा सयर गर्दै मनमोहक सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पाइने भएकाले पनि पर्यटकहरू यहाँ लोभिने गर्नुहुन्छ । तर कतिपय पर्यटक प्रकृतिमा रमाउन मात्र होइन, स्थानीय कला र स्वाद चाख्न पनि सौराहा पुग्ने गर्नुभएको छ ।
साँझपख प्रस्तुत गरिने मौलिक थारु सांस्कृतिक नृत्य तथा थारु, नेवारी लगायतका स्थानीय परिकारले पर्यटकको बसाइलाई थप अविस्मरणीय बनाउने गरेको छ । पर्यटकको आगमनसँगै सौराहाका होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बन्धी व्यवसायमा पनि गतिविधि बढेको छ । सौराहमा साना ठुला गरेर डेढ सय हाराहारीमा होटल रहेको अध्यक्ष मालीको भनाइ छ । पर्यटकले आफ्नो रुचि र बजेटअनुसार बस्न तथा खानका लागि विकल्प पाउने भएकाले पनि सौराहा घुमफिरका लागि आकर्षक बन्दै गएको उहाँले बताउनुभयो ।
सौराहका होटल व्यवसायी सिरलाल परियारका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको यो उत्साहजनक आगमनले सुस्ताएको पर्यटन व्यवसाय र समग्र स्थानीय अर्थतन्त्रमा ठुलो राहत मिलेको छ । ‘यहाँका सबैजसो होटलहरु भरिभराउ नै छन्, यसले हामीलाई उत्साह थपेको छ, नेपालमै केही गर्न सकिन्छ भन्ने आश पलाउन थालेको छ’ व्यवसायी परियारले भन्नुभयो ‘सकेसम्म यहाँ आउने पर्यटकलाई खुसी बनाएर पठाउने प्रयास पनि हामीले गरिरहेका छौ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij