नेपालगञ्ज : लोक आस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ‘सझिया अरख’ सम्पन्न गरिएको छ।
नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पूर्वपट्टि रहेको तलाउमा भेला भएका महिलाले सामूहिक रूपमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको महत्त्वपूर्ण विधि ‘सझिया अरख’ सम्पन्न गरेका हुन्। तलाउ परिसरमा छठ पर्व मनाउन व्रतालु तथा श्रद्धालुको उपस्थित थिए।
नदी, तलाउ र कुण्डसहितका जलाशयमा निर्मित घाटमा व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका हुन्। सूर्यास्तको समय पारेर सूर्यदेव र छठीदेवीको महिमागान गर्दै मङ्गलगानका बीच पहिलो अर्घ्य विधि सम्पन्न गरिएको हो।
कार्तिक शुक्ल षष्ठी तिथिमा भगवान् सूर्य र देवी षष्ठीको उपासना गरिने यस पर्वमा व्रतालुले पहिलो अर्घ्य अस्ताचलगामी (अस्ताउँदो) सूर्यलाई दिने परम्परा छ। अर्घ दिन एक घडीपूर्वदेखि जलाशयमा कम्मरसम्मको पानीमा उभिएर प्रार्थना गर्दै व्रतालुले सूर्यास्त कुरेका थिए। जटासहितको नरिवल, अवीर र अरबा चामलको पीठो हातमा लिएर सूर्यदर्शन गर्दै अर्घ्य दिइन्छ।
व्रतालुले यससँगै क्रमशः छठका लागि बनाएका ठकुवा, भुसुवासहित मिष्टान्नका डाली, केरा र अन्य फलफूल सूर्यलाई देखाउँछन्। कार्तिक शुक्ल चौथीका दिन शुरु भएको छठ उत्सवमा यसअघि व्रतालुले पहिलो दिन चौथी तिथिमा ‘नहाय खाय’ र दोस्रो दिन पञ्चमी तिथिमा ‘खरना’ सम्पन्न गरिसकेका छन्।
खरनाका दिन मध्यरातपूर्व सक्खर, दूध र अरबा चामलको खीर खाएर व्रत प्रारम्भ गरेका व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका हुन्। ‘सझिया अरख’ विधि सम्पन्न गरेसँगै व्रतालुले भोलि सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व सम्पन्न गर्नेछन्।
सूर्योदयको समयमा पनि व्रतालु एक घडी पहिले पानीमा पसेर सूर्यलाई चाँडै देखिन प्रार्थना गर्छन्। बिहानको अर्घ्यसँगै महापर्व छठ सम्पन्न हुनेछ। बिहानको अर्घ्य दिने दिनलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने चलन छ। पर्व सम्पन्न भएसँगै व्रतालु घर फर्केर आशामुखी, दीनदुःखीलाई दान दिएर प्रसाद ग्रहण गर्छन्।
त्यसपछि प्रसाद खाने र खुवाउने क्रम सुरु हुन्छ। छठको प्रसाद छोरीचेली, मित तथा अन्य इष्टमित्र कहाँ पुर्याउने चलन छ। सूर्यदेव र षष्ठीदेवीलाई इच्छित कामना पूरा गर्ने इष्टदेव र देवीका रूपमा श्रद्धा गर्ने धार्मिक मान्यता छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij