Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

हिमाली जिल्ला म्याग्दीमा छठ पर्व मनाइयो

हिमाली जिल्ला म्याग्दीमा छठ पर्व मनाइयो

बेनी : हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व मनाइएको छ। म्याग्दीमा बसोवास गर्ने तराईवासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन्।

जलजला गाउँपालिका–३ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलवासीले छठी देवीको पूजाआजा र नदीमा गएर अर्घ्य दिएका छन्। आज साँझ कालीगण्डकी नदी किनारमा पूजाआजा र अर्घ्य दिएका व्रतालुले सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिने तयारी गरेका छन्। छठको पूजाका लागि तीन दिनसम्म पानी पनी नखाई व्रत बसेका थिए।

नुहाइधुवाइ शुद्ध वस्त्र लगाएर व्रत बस्ने गरिएको बेनीमा व्यवसाय गर्दै आएकी प्रतिमा शाहले बताइन्। व्यावसायिक व्यस्तताले जन्मथलो जान नपाए पनि आफू बसेकै ठाउँमा सामूहिक रूपमा छठ पर्व मनाइएको किसन शाहले बताए। नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायत राखिएका प्रसाद लिएर नदी किनारमा उभिएका व्रतालुले सूर्यलाई अर्घ्य दिएका थिए।

ठेकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदिको प्रसाद बनाएर चढाएका थिए। छठ मनाउन जम्मा भएका मिथिलाञ्चलवासीलाई बेनीमा बसोवास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए। छठको पूजा गरेको देखेर अनौठो मानेका थिए। आफ्नै जन्मथलोमा जसरी विधिपूर्वक छठ मनाएको उमाशङ्कर शाहले बताए।

म्याग्दीका विभिन्न ठाउँमा करिब २०० तराईवासी छन्। व्यावसायिक र पारिवारिक कारणले घरमा जान नपाउनेलाई पछिल्ला केही वर्षयता बेनीमै छठ पर्व मनाउने व्यवस्था मिलाएको सञ्जय ठाकुरले बताए। विसं २०७७ वर्षदेखि तराईवासीले म्याग्दीमा छठ मनाउन थालेका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट