काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ केजी सेतो हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक मेकानिकल इन्जिनियर रहेको खुलेको छ ।
प्रहरीले उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र बरामद गरेको छ । महाराष्ट्र घर भएका ५२ वर्षीय रेवराज टिघारेले यसअघि पनि काठमाडौंलाई ट्रान्जिट बनाएर दुईपटक सेतो हेरोइन तस्करी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
टिघारेले लाओसबाट सन् २०२५ र २०२६ मा दुई पटक सेतो हेरोइन ल्याएर भारततर्फ तस्करी गरेको भेटिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले बताए । पहिलो पटक उनले हवाई मार्गबाट र दोस्रो पटक स्थलमार्ग हुँदै सेतो हेरोइन भारत लगेको टिघारेले प्रहरीसँग स्विकार गरेका छन् ।
शनिबार उनको साथबाट बरामद सेतो हेरोइनको अवैध बजार मुल्य करिब २२ करोड पर्छ । अहिले उनले थाईल्याण्डबाट सेतो हेरोइन ल्याएका हुन् । यसपटक लगेजभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाएर लागुऔषध ल्याएको उनले यसअघि फरक शैली अपनाएको भेटिएको छ ।
२०२५ नोभेम्बरमा आउँदा उनले स्पोर्टस् सुज र कपडामा लुकाएर सेतो हेरोइन ल्याएका थिए । सन् २०२६ फेब्रुअरीमा आउँदा उनले कार वास गर्ने पाइपमा लुकाएर सेतो हेरोइन ल्याएका थिए । काठमाडौंलाई ट्रान्जिट बनाएर उनले तेस्रोपटक सेतो हेरोइन तस्करी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
सेतो हेरोइन प्रति ग्राम ४० हजारको दरले कारोबार हुने अनुसन्धान अधिकृतहरू बताउँछन् । शनिबार बिहान प्रहरीले शंका लागेर चेकजाँच गर्दा उनी पक्राउ परेका थिए । उनले जिम्बाम्बे, सुडान, बंगलादेश र कम्बोडियाको भ्रमण गरेको यात्रा विवरण देखिएको छ ।
उनी लागुऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालको मुख्य व्यक्ति रहेको अनुसन्धानबाट खुलेको एसएसपी बोहराले जानकारी दिए । उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र समेत बरामद गरिएको छ । उनी अविबाहित हुन् । साढे ५ केजी सेतो हेरोइन उनले म्यानमारमा रिसिभ गरेर कम्बोडियाबाट बैंकक हुँदै काठमाडौं ल्याएको अनुसन्धानले देखाएको छ ।
सेतो हेरोइन कारोबार गर्नेलाई १५ वर्षदेखी जन्मकैद र ५ लाख देखी २५ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । आरोपीमाथी लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको एसएसपी बोहराले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij