चितवन : राजधानी जोड्ने प्रमुख सडकखण्ड नारायणगढ–मुग्लिन सडकमा बढीभार बोकेका सवारीसाधनको निगरानी गर्ने तौल स्टेशन लामो समयदेखि सञ्चालनमा नआउँदा सडक सुरक्षा र सडकको आयुमाथि जोखिम बढेको छ।
भरतपुर महानगरपालिका–१ आँपटारीस्थित तौल स्टेशन गत असार १२ गतेदेखि बिग्रिएर सञ्चालनविहीन छ। स्टेशनका कम्प्युटर अपरेटर सरोज रानाका अनुसार तौल स्टेशनमा पटक–पटक प्राविधिक समस्या आउने गरेको छ। अहिले स्टेशन सञ्चालनमा नहुँदा तोकिएको क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनको निगरानी तथा नियन्त्रण प्रभावकारी हुन सकेको छैन।
तौल स्टेशन सञ्चालनमा रहेको समयमा क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनको तौल परीक्षण गरी आवश्यक कारबाही गरिँदै आएको थियो। तर, स्टेशन बिग्रिएपछि बढीभार बोकेका सवारीसाधनको आवागमन बढेको र त्यसको प्रत्यक्ष असर सडक संरचनामा पर्न सक्ने सडक विभागको निष्कर्ष छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पछिल्लो समय सडक भासिने, पहिरो जाने तथा अन्य जोखिमयुक्त स्थान थपिँदै गएका छन्। सिमताल क्षेत्रमा सडक भासिएपछि केही समय यातायात एकतर्फी सञ्चालन गर्नुपरेको थियो। सडकको संरचनामाथि बढ्दो दबाबले यातायात सञ्चालनसँगै यात्रुको सुरक्षामा समेत चुनौती थपिएको छ।
तौल स्टेशन सञ्चालनमा हुँदा त्यहाँ ट्राफिक प्रहरीको नियमित उपस्थिति रहने गरेको थियो। स्टेशनमा प्रहरी पोस्टिङका लागि समेत प्रतिस्पर्धा हुने गरेको भए पनि अहिले स्टेशन नै बन्द भएपछि ट्राफिक प्रहरीको उपस्थिति हटेको छ। यसले बढीभार नियन्त्रण तथा सवारीसाधनको निगरानीमा थप समस्या सिर्जना गरेको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना न्यूनीकरण तथा बढीभार बोकेका सवारीसाधन नियन्त्रण गर्ने उद्देश्यले सरकारले २०७७ सालमा यातायात विभाग र ट्राफिक प्रहरीको समन्वयमा आँपटारीमा तौल स्टेशन सञ्चालनमा ल्याएको थियो।
तर, लामो समयदेखि बिग्रिएको तौल स्टेशन मर्मत गरी पुनः सञ्चालनमा ल्याउन ढिलाइ हुँदा बढीभार नियन्त्रणसँगै सडकको संरचना, सडकको आयु र यात्रुको सुरक्षामा समेत थप चुनौती देखिएको छ। सम्बन्धित निकायले तत्काल स्टेशन मर्मत गरी प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता देखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij