चितवन : चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रका चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ।
निकुञ्जका अनुसार रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत भेटिएका हुन्। उनको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे निकुञ्जको टोलीले स्थलगत अनुसन्धान गरिरहेको छ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार मृत्युको वास्तविक कारण अनुसन्धानपछि मात्रै यकिन हुनेछ। हात्तीको मृत्युको कारण पत्ता लगाउन आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए।
सौराहा–खोरसोर क्षेत्रमा ‘सेलिब्रेटी’ हात्तीका रूपमा परिचित रोनाल्डोले खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रसँग लामो समयदेखि विशेष सम्बन्ध राख्दै आएका थिए। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनका अनुसार केन्द्रमा जन्मिएका धेरै छावाका पिता रोनाल्डो नै हुन्।
२०८३ असारसम्म केन्द्रमा जन्मिएका ६९ वटा छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान रहेको विवरण छ। यही कारण रोनाल्डो खोरसोरको हात्ती प्रजनन केन्द्रसँग पनि विशेष रूपमा जोडिएका थिए।
विशाल शरीर, फूर्तिलो चाल र अन्य भाले हात्तीसँग भिड्न सक्ने स्वभावका कारण रोनाल्डो पर्यटक तथा स्थानीयमाझ लोकप्रिय थिए। फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नामबाट उनको नाम राखिएको बताइन्छ।
करिब ५३ वर्ष उमेरका रोनाल्डोको शरीरमा अन्य हात्तीसँग भएको संघर्षका चिन्हसमेत देखिएको निकुञ्जले जनाएको छ। संघर्षकै क्रममा उनको पुच्छरसमेत गुमेको थियो।
रोनाल्डोको मृत्युसँगै सौराहा–खोरसोर क्षेत्रमा लामो समयदेखि चर्चित रहेको एउटा परिचित जंगली हात्तीको कथा समाप्त भएको छ। उनको मृत्युको वास्तविक कारण भने निकुञ्जको अनुसन्धान पूरा भएपछि मात्रै स्पष्ट हुने जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij