Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रसुवा बाढीपछि चितवनमा रेडक्रसको शव व्यवस्थापन र मनोसामाजिक सहायता तीव्र

रसुवा बाढीपछि चितवनमा रेडक्रसको शव व्यवस्थापन र मनोसामाजिक सहायता तीव्र

भरतपुर : रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीपछि नारायणी नदी हुँदै चितवनसम्म आइपुगेका शवको व्यवस्थापन तथा पीडित परिवारलाई मनोसामाजिक सहायता प्रदान गर्ने कार्यलाई नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले तीव्रता दिएको छ ।

भाद्र १० गते आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि नारायणी नदीको तटीय क्षेत्रमा समेत त्यसको प्रभाव परेको हो । नदीको जलसतह घट्दै गएसँगै किनार तथा आसपासका क्षेत्रमा थप शव फेला पर्न थालेपछि रेडक्रसले सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा स्वयंसेवक परिचालन गरी शव व्यवस्थापनको काम गरिरहेको जनाएको छ ।

बाढी आएको दिनदेखि हालसम्म नदी किनार तथा शव होल्डिङ सेन्टरमा रेडक्रसका १६० भन्दा बढी स्वयंसेवक परिचालन भइसकेका छन् । शव व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउन रेडक्रसले जिल्ला विपद् व्यवस्थापन समिति चितवनलाई डेड बडी ब्याग, पीपीई सेट, मास्क, ग्लोब्स, स्यानिटाइजर, फिनेललगायतका आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी तथा अस्थायी शव गृहका कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको रेडक्रसले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आधिकारिक विवरणअनुसार भाद्र १८ गतेसम्म चितवनमा प्राप्त शवको सङ्ख्या ३६० पुगेको छ ।

शोकाकुल परिवारलाई मनोसामाजिक सहायता

रेडक्रसले शव व्यवस्थापनसँगै विपद्का कारण आफन्त गुमाएका तथा बेपत्ता परिवारलाई मनोसामाजिक सहायता प्रदान गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको छ ।

शव पहिचान केन्द्रमा आएका मृतकका आफन्तलाई तालिमप्राप्त मनोपरामर्शदातामार्फत सेवा दिइँदै आएको छ । हालसम्म १९ जनाले गहन मनोपरामर्श र ४२ जनाले मनोसामाजिक प्राथमिक उपचार सेवा प्राप्त गरेका छन् ।

बेपत्ता व्यक्तिको खोजी तथा परिवारसँग पुनर्मिलनका लागि रेडक्रसका स्वयंसेवकले हालसम्म ४०६ वटा फाराम भरेका छन् । मृतकको पहिचानका लागि भइरहेको डीएनए परीक्षण प्रक्रियामा समेत रेडक्रसले परिवारलाई आवश्यक सहजीकरण गरिरहेको जनाएको छ ।

भरतपुरमा ११०० युनिट रगत मौज्दात

आकस्मिक उद्धार तथा उपचारका क्रममा हुनसक्ने रगतको अभावलाई ध्यानमा राख्दै रक्तसञ्चार केन्द्र भरतपुरमा ११०० युनिट रगत मौज्दात राखिएको छ ।

स्वयंसेवक तथा कर्मचारीको निरन्तर परिचालनका कारण जिल्लामा हाल रगतको अभाव नरहेको र रक्तसञ्चार सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको रेडक्रस चितवनले जनाएको छ ।

६४ औँ स्थापना दिवसमा बाढीपीडितप्रति श्रद्धाञ्जली

यसैबीच, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले भाद्र १९ गते आफ्नो ६४ औँ स्थापना दिवस मनाएको छ । “मानवताका लागि एकबद्ध होऔँ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम जिल्ला शाखाका सभापति हरिप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।

बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थालाई मध्यनजर गर्दै रेडक्रसले यसपटक स्थापना दिवसलाई औपचारिक उत्सवभन्दा पीडितप्रति सहानुभूति र श्रद्धाञ्जलीमा केन्द्रित गरेको थियो ।

कार्यक्रममा जिल्ला शाखाका पदाधिकारी, उपशाखाका प्रतिनिधि, कर्मचारी तथा स्वयंसेवकहरूले रेडक्रसका संस्थापक ज्याँ हेनरी ड्युनाको शालिकमा माल्यार्पण गरेका थिए । त्यसपछि बाढीमा ज्यान गुमाएकाहरूप्रति एक मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

बाढीमा परी बेपत्ता भएकाहरूको शीघ्र खोजी, पहिचान तथा परिवारसँग पुनर्मिलनको कामना गर्दै दीप प्रज्वलनसमेत गरिएको थियो ।

रेडक्रस चितवनले जिल्ला विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वय गर्दै आवश्यकता अनुसार उद्धार, शव व्यवस्थापन, मनोसामाजिक सहायता तथा अन्य मानवीय प्रतिकार्यका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट