चितवनः रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा बगेर चितवनसम्म आइपुगेका पहिचान खुल्न नसकेका १०३ जनाको शव चितवन प्रशासनले देवघाटस्थित चितवनतर्फको जंगल क्षेत्रमा माटोमुनि व्यवस्थापन गरेको छ।
बाढीपछि जिल्लाका विभिन्न स्थानबाट हालसम्म २ सय ७२ शव फेला परेका छन्। तीमध्ये १० शवको पहिचान खुलेपछि आफन्तले जिम्मा लिएर लगेका छन्। पहिचान हुन नसकेका शवमध्ये १०३ वटा शवलाई प्रशासनले आवश्यक विवरण र सङ्केत चिन्ह सुरक्षित राख्दै व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिए।
प्रशासनका अनुसार शव व्यवस्थापन गरिएपनि भविष्यमा पहिचानको सम्भावना भने खुला राखिएको छ। डीएनए परीक्षणबाट कुनै शवको पहिचान खुलेमा सम्बन्धित आफन्तले प्रशासनसँग समन्वय गरी शव झिकेर लैजान सक्ने व्यवस्था गरिएको छ।
पहिचान नखुलेका शवलाई लामो समयसम्म खुला अवस्थामा राख्दा स्वास्थ्य तथा वातावरणीय जोखिम बढ्नसक्ने भएकाले प्रशासनले सम्मानपूर्वक अन्त्येष्टि तथा व्यवस्थापनको प्रक्रिया अघि बढाएको जनाएको छ। शवको सङ्केत, विवरण र आवश्यक पहिचानसम्बन्धी अभिलेख सुरक्षित राखिएकाले आगामी दिनमा आफन्तको खोजी तथा पहिचान प्रक्रियामा सहज हुने प्रशासनको विश्वास छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij