चितवन : रसुवा बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट संकलन गरिएका पहिचान नखुलेका शवलाई अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को मापदण्डअनुसार चितवनमा समाधिस्थ गर्ने तयारी गरिएको छ।
शव व्यवस्थापनका लागि भरतपुर महानगरपालिका–१ स्थित देवघाटको वन क्षेत्रमा खाल्डो खन्ने काम सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार लामो खाल्डो बनाएर शवहरूबीच करिब ४० सेन्टिमिटर दूरी कायम गरी राखिनेछ।
शवलाई सुताएर राख्नुका साथै भविष्यमा पहिचान गर्न सहज होस् भनेर प्रत्येक शवसँग र माथिल्लो भागमा छुट्टाछुट्टै संकेत चिन्ह राखिने प्रहरीले जनाएको छ।
नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेलका अनुसार आईसीआरसीको मापदण्डले शवको पहिचान, अभिलेखीकरण र सम्मानजनक व्यवस्थापनलाई प्राथमिकता दिन्छ। त्यसअनुसार शवको स्थान, तस्बिर, पहिचानसम्बन्धी विवरणलगायत आवश्यक अभिलेख सुरक्षित राखिनेछ, जसले भविष्यमा शवको पहिचान गर्न सहयोग पुग्नेछ।
हालसम्म चितवनमा २३३ शव संकलन भएकामा ६ वटाको मात्रै सनाखत भएको छ। बाँकी शव भरतपुर अस्पताल र अस्थायी शवगृहमा राखिएका छन्। लामो समयसम्म व्यवस्थापन हुन नसक्दा शव कुहिन थालेपछि स्वास्थ्य जोखिमसमेत बढेको प्रहरीले जनाएको छ।
शवको भविष्यमा पहिचान गर्न सकिने सम्भावना कायम राख्न सबै शवबाट डीएनए नमुना संकलन गरिसकिएको छ। त्यसपछि मात्रै समाधिस्थ गर्ने प्रक्रिया अघि बढाइएको हो।
जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पहिचान नखुलेका शवलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाधिस्थ गर्ने निर्णय गरेपछि व्यवस्थापनको काम अघि बढाइएको हो। यी शव रसुवामा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदीबाट बगेर चितवन आइपुगेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij