चितवन : नारायणी नदीमा आएको बाढीका कारण विभिन्न स्थानमा फेला परेका शवको सनाखतपछि सम्बन्धित स्थानसम्म पुर्याउन कालिका नगरपालिकाले भरतपुरमा निःशुल्क शववाहन सेवा सञ्चालन गरेको छ। बाढीका कारण नारायणी नदीमा बगेर आएका शव चितवनका विभिन्न क्षेत्रमा भेटिने क्रम जारी छ। सनाखत भएका शव सम्बन्धित परिवार तथा आफन्तसम्म पुर्याउन समस्या देखिएपछि नगरपालिकाले मानवीय सेवाका रूपमा निःशुल्क शववाहन उपलब्ध गराएको हो।
कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीका अनुसार विपद्को कठिन अवस्थामा पीडित परिवारलाई सहयोग पुर्याउने र शव ओसारपसारमा लाग्ने आर्थिक भार कम गर्ने उद्देश्यले सेवा सञ्चालन गरिएको हो।
उनका अनुसार भरतपुरमा सनाखत भएका शव सम्बन्धित स्थानमा लैजान समस्या भएमा नगरपालिकाको शववाहन सेवा लिन सकिनेछ।
यसैबीच, नगर प्रमुख रेग्मी स्वयं पनि विपद्का बेला उद्धार तथा राहत कार्यमा सक्रिय रहेको नगरपालिकाले जनाएको छ। उनले नियमित रूपमा प्रयोग गर्ने सवारीसाधनको सट्टा एम्बुलेन्समार्फत समेत प्रभावित नागरिकको सेवामा खटिएको बताइएको छ।
विपत्तिको समयमा स्थानीय तहबाट सञ्चालन गरिएको निःशुल्क शववाहन सेवाले शव व्यवस्थापन तथा परिवारसम्म शव पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij