Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन : रसुवा बाढीका कारण त्रिशूली र नारायणी नदीमा हालसम्म १७८ शव भेटिएका छन्। चितवनतर्फ नदी किनारमा भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव संरक्षण तथा पहिचान केन्द्रमा व्यवस्थापन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भेटिएका शवमध्ये ७४ पुरुष, ४१ महिला, ६ बालक र २ बालिका छन्। यस्तै, ५५ जनाका शरीरका अङ्गसमेत भेटिएका छन्।

भेटिएका अङ्गमध्ये २२ वटा शव संरक्षण तथा पहिचान केन्द्रमा लगिएको छ भने बाँकी भरतपुर अस्पतालमै सफाइ गरी सुरक्षित राखिएको प्रहरीले जनाएको छ। केही शवको नदी किनारमै मुचुल्का उठाउने प्रक्रिया भइरहेको छ।

तस्बिर खिचिएका शवको पहिचानका लागि ‘डिस्प्ले’ सुरु गरिएको छ। बेपत्ता आफन्तका परिवारले उक्त डिस्प्लेमा राखिएका तस्बिर हेरेर पहिचान गर्न सक्नेछन्। प्रहरीले शवका तस्बिर नेपाल प्रहरीको पोर्टलमा समेत राख्ने तयारी गरेको जनाएको छ।

पुरानो भवनमा शव संरक्षण तथा पहिचान केन्द्र

भरतपुर महानगरपालिका–१० स्थित भरतपुर अस्पताल नजिकै चितवन उद्योग सङ्घको आडमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण तथा पहिचान केन्द्रका रूपमा प्रयोग गरिएको छ।

भरतपुर अस्पतालमा शव राख्न पर्याप्त स्थान नभएपछि उक्त भवनलाई अस्थायी रूपमा शव संरक्षण तथा पहिचान कक्षका रूपमा प्रयोग गरिएको हो।

पहिचान भएका शव बुझ्न आउने आफन्तको आधिकारिकता परिचयपत्रलगायत आवश्यक कागजातका आधारमा यकिन गरिने प्रहरीले जनाएको छ। पहिचान भएपछि शवलाई पुनः भरतपुर अस्पताल ल्याएर शव परीक्षण गरिनेछ।

खोजी कार्य जारी

चितवनतर्फका त्रिशूली र नारायणी नदी किनारमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शव तथा बेपत्ताको खोजी जारी राखेको छ।

स्थानीयवासी तथा बेपत्ता व्यक्तिका परिवारले नदी किनारमा शव वा मानव शरीरका अङ्ग भेटिएपछि सुरक्षा निकायलाई खबर गर्ने क्रमसमेत जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट