Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

शव संरक्षणदेखि पीडित परिवारको बसोबाससम्म, चितवन सुरक्षा समितिले गर्‍यो यस्तो निर्णय

शव संरक्षणदेखि पीडित परिवारको बसोबाससम्म, चितवन सुरक्षा समितिले गर्‍यो यस्तो निर्णय

चितवन : रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा भेटिएका तथा आगामी दिनमा फेला पर्न सक्ने शवको व्यवस्थापन र प्रभावित परिवारलाई सहजीकरण गर्न जिल्ला सुरक्षा समितिले विभिन्न निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले बेपत्ता तथा मृतकका परिवारलाई सूचना, समन्वय र आवश्यक सहयोग उपलब्ध गराउन तत्काल ‘विपद् सहायता कक्ष’ सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकले भरतपुर महानगरपालिका–१० स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण तथा व्यवस्थापनका लागि प्रयोग गर्ने निर्णय गरेको छ। भवन अपुग भए भरतपुर–१ स्थित देवघाटको शवदाह गृहसमेत वैकल्पिक रूपमा प्रयोग गरिनेछ। भवनको मर्मत तथा आवश्यक व्यवस्थापन भरतपुर महानगरपालिकाले गर्नेछ।

शव संरक्षणका लागि आवश्यक ड्राइ आइस चितवन उद्योग संघ, चितवन उद्योग वाणिज्य संघ र रत्ननगर उद्योग वाणिज्य संघले व्यवस्थापन गर्ने भएका छन्। शव खोजी कार्यलाई तीव्र बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र महानगर प्रहरीलाई समन्वयात्मक रूपमा परिचालन गरिनेछ।

पहिचान भएका शवको कानुनी प्रक्रिया यथाशीघ्र पूरा गरी सम्बन्धित परिवारलाई बुझाउने निर्णयसमेत भएको छ। अन्य जिल्लाबाट शव पहिचानका लागि चितवन आउने आफन्तलाई होटल संघ चितवन र क्षेत्रीय होटल संघको समन्वयमा निःशुल्क खाना तथा बसोबासको व्यवस्था गरिनेछ।

राहत तथा उद्धारमा खटिने सुरक्षाकर्मी र स्वयंसेवकका लागि खानेपानी तथा खाजाको व्यवस्था रत्ननगर उद्योग संघ र सामाजिक संस्थाले गर्नेछन्। ‘डेड बडी ब्याग’ रत्ननगर बकुलहर अस्पताल तथा नेपाल रेडक्रस सोसाइटी चितवनले उपलब्ध गराउनेछन् भने सेनिटाइजर, मास्क र पञ्जालगायत स्वास्थ्य सुरक्षा सामग्री सर्जिकल व्यवसायी संघ चितवनले व्यवस्थापन गर्नेछ।

यसैबीच, संकटपूर्ण अवस्थालाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिले आसन्न हरितालिका तीज पर्वलाई सामान्य र संयमित रूपमा मनाउन चितवनवासीलाई अपिल गरेको छ। बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डरलगायत सामग्री फेला परे तत्काल सुरक्षानिकायलाई बुझाउन पनि आग्रह गरिएको छ।

समितिले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै विपद्को जोखिम अझै पूर्ण रूपमा नहटेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट