रत्ननगर : पूर्वी चितवनको रत्ननगर नगरपालिकामा पछिल्लो समय बसाइँ सरेर आउनेहरूको आकर्षण बढेको छ। आर्थिक वर्ष २०८२/०८३ मा रत्ननगरमा नयाँ जन्मिएका बालबालिकाको संख्याभन्दा बाहिरबाट स्थायी रूपमा बसाइँ सरेर आउने नागरिकको संख्या करिब दोब्बर पुगेको छ। नगरपालिकाको पञ्जीकरण शाखाका अनुसार ५०५ वटा दर्ता मार्फत १ हजार ६०३ जना नागरिक बाहिरबाट रत्ननगर भित्रिएका छन्। यसको तुलनामा रत्ननगर छाडेर अन्यत्र जानेको संख्या भने निकै कम छ। सोही अवधिमा १७४ दर्ता मार्फत ४५८ जना मात्रै बाहिरिएका छन्, जसले रत्ननगर छाड्नेभन्दा भित्रिनेको संख्या करिब चार गुणा बढी रहेको स्पष्ट पार्छ।
सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीका अनुसार नगरभित्र जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ गरी कुल २ हजार ६९९ वटा व्यक्तिगत घटना दर्ता भएका छन्। यस अवधिमा ८८६ जना बालबालिकाको जन्मदर्ता भएको छ, जसमा ४६२ पुरुष र ४२४ महिला रहेका छन् भने तेस्रो लिङ्गीको दर्ता संख्या शून्य छ। वडागत रूपमा वडा नम्बर १३ मा सबैभन्दा बढी ८९ जना र वडा नम्बर ६ मा सबैभन्दा कम ३४ जनाको जन्मदर्ता भएको छ। त्यसैगरी नगरभरि ४८२ जनाको मृत्यु दर्ता भएको छ, जसमा २६३ पुरुष र २१९ महिला छन्। मृत्यु दर्तातर्फ वडा नम्बर १३ मा सबैभन्दा बढी समान ४४ जना र वडा नम्बर २ मा सबैभन्दा कम १६ जना रहेका छन्।
पारिवारिक विवरण अनुसार सोही अवधिमा ५४१ जोडीले विवाह दर्ता गराएका छन् भने १११ जोडीले सम्बन्ध विच्छेद गरेका छन्। विवाह दर्तातर्फ वडा नम्बर १३ मा सबैभन्दा बढी ४८ वटा र वडा नम्बर ६ मा सबैभन्दा कम १७ वटा दर्ता भएका छन् भने सम्बन्ध विच्छेदमा वडा नम्बर ९ मा सबैभन्दा बढी १२ वटा र वडा नम्बर ८ सम्बन्ध विच्छेदको घटना शुन्य रहेको छ । समग्रमा वडा नम्बर १३ मा सबैभन्दा बढी २६२ वटा र वडा नम्बर ६ मा सबैभन्दा कम ८५ वटा व्यक्तिगत घटना दर्ता भएका छन्। बसाइँसराइको यो उच्च दरले रत्ननगर सुगम सेवासुविधा र स्थायी बसोबासका लागि नागरिकको पहिलो रोजाइ बन्दै गएको देखाउँछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij