चितवन । चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मृत्यु भएका दुई जनाको परिचय खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ का २३ वर्षीय महेबुब रजा र मोटरसाइकलमा पछाडि सवार महोत्तरीको गौशला नगरपालिका–५ की ३३ वर्षीया अजिमा प्रबिन रहेका छन्। उनीहरू दिदी–भाइ रहेको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो करिब १२ः२३ बजे खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा दुर्घटना भएको हो। नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार महिला गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएकोमा महेबुबको दिउँसो १ः५५ बजे र अजिमाको २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बसका चालक सर्लाहीको हरिवन नगरपालिका–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस र मोटरसाइकल दुवै इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेका छन्।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij