चितवन : चितवनको रत्ननगरमा निर्माण सुरु भएको करिब एक दशक पुग्न लाग्दा पनि ६ सय जना क्षमताको सभा हल सञ्चालनमा आउन सकेको छैन । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको सभा हलको भौतिक प्रगति हाल ९० प्रतिशत पुगे पनि पटक–पटक म्याद थपिँदा निर्माण पूरा हुन सकेको छैन ।
रत्ननगर नगरपालिकाको मुख्य बजार क्षेत्रमा निर्माण भइरहेको सभा हलका लागि २०७३ कात्तिक ५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७६ वैशाख ४ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा काम नसकिएपछि तीन पटक म्याद थप गरिएको थियो ।
थपिएको समयभित्रसमेत निर्माण सम्पन्न नभएपछि अहिले अन्तिम पटक म्याद थप गरी २०८३ कात्तिक ३० गतेसम्म काम सक्ने सम्झौता गरिएको छ । यसअनुसार सभा हल सञ्चालनमा आउन अझै केही समय लाग्ने देखिएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, भरतपुरका सूचना अधिकारी द्रोण कटुवालका अनुसार सभा हलको भौतिक प्रगति ९० प्रतिशत पुगेको छ । वित्तीय प्रगति भने ८० प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना अहिले निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।
सभा हल निर्माणका लागि २१ करोड ५१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो । सङ्घीय सरकारको लगानीमा बहुवर्षीय आयोजना अन्तर्गत निर्माण भइरहेको सभाहलको ठेक्का पिएस–बिरुवा जेभीले पाएको छ ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले सभा हल निर्माण सम्पन्न गर्न लामो समयदेखि पहल भइरहेको बताउनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न भएपछि नगर क्षेत्रमा सभा, सम्मेलन तथा विभिन्न सार्वजनिक कार्यक्रम सञ्चालन गर्न सहज हुनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij