रत्ननगर : चितवनको रत्ननगर नगरपालिका–१५ खोलेसिमलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार स्थानीय ५१ वर्षीय कृष्ण लामाको घरमा जुवातास खेल भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।
गत साउन २८ गते दिउँसो करिब १२ बजे प्रहरी वरिष्ठ नायव निरीक्षक जीवन सुनारीको कमाण्डमा खटिएको ‘क्याप’ टोलीले लामाको घरको भान्छा कोठामा छापा मारेको थियो। त्यसक्रममा घरधनी कृष्ण लामासहित रत्ननगर–१५ का भीमबहादुर तामाङ र अमन लामा पक्राउ परेका छन्।
यस्तै, कालिका–६ का वीरबहादुर तामाङ, अमृत लामिछाने, सूर्य मगर, विष्णुलाल श्रेष्ठ, सन्तोष लामिछाने र विजय थापा पनि पक्राउ परेका छन्। प्रहरीले कालिका–१ का चन्द्रकान्त सुवेदी, कालिका–७ का राजु केसी, भरतपुर–१५ का अमित गुरुङ, तनहुँ देवघाट–१ का चन्द्र गुरुङ तथा गोरखा आरुघाट घर भई हाल रत्ननगर–१५ बस्ने मिठे सुर्खेतीलाई समेत जुवाको खालबाटै नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट १३ हजार ९५५ रुपैयाँ नगद बरामद भएको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट थप ६८ हजार ९५० रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। यसरी कुल ८२ हजार ९०५ रुपैयाँ बरामद भएको छ।
त्यसैगरी घटनास्थलबाट चार बुक तास र १४ थान मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरू, बरामद नगद तथा मोबाइललाई आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरी चौकी खोलेसिमल र इलाका प्रहरी कार्यालय टाँडीको मुचुल्का टोलीको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।