Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनको बस्तीमा पसेको बाघ नियन्त्रणमा, एक जना घाइते

चितवनको बस्तीमा पसेको बाघ नियन्त्रणमा, एक जना घाइते

चितवन : चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा पसेको बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । बाघको आक्रमणबाट सोही स्थानका ६० वर्षीय ठाकुर अधिकारी सामान्य घाइते भएका हुन् । उनको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहीबार बिहान करिब ६ः४० बजे चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको बाघले अधिकारीलाई आक्रमण गरेको थियो । त्यसैगरी, बाघले स्थानीय दिलाकुमारी तामाङको गोठमा रहेको जर्सी गाईलाई समेत आक्रमण गरी घाइते बनाएको थियो ।

बस्तीमा बाघ प्रवेश गरेपछि नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी तथा प्राविधिकसहित हात्तीको टोली परिचालन गरिएको थियो । लामो प्रयासपछि टोलीले करिब साढे ११ बजे बाघलाई सफलतापूर्वक नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको बाघलाई आवश्यक व्यवस्थापनका लागि चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको छ ।

पछिल्लो समय चितवनका मध्यवर्ती क्षेत्र तथा बस्ती आसपासमा बाघ देखिने क्रम बढेसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना पनि बढिरहेका छन् । यसबाट स्थानीयवासी त्रसित बनेका छन् । उनीहरूले मानव तथा पशुचौपायाको सुरक्षाका लागि वन्यजन्तु नियन्त्रण तथा निगरानी व्यवस्थालाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट