Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

राप्तीका १५० घरधुरीलाई धुवाँरहित चुलो वितरण

राप्तीका १५० घरधुरीलाई धुवाँरहित चुलो वितरण

रास्ती : सपना भिलेज सोसियल इम्प्याक्टले ग्रामीण समुदायमा स्वच्छ, सुरक्षित तथा स्वास्थ्यमा मैत्रीपूर्ण खाना पकाउने प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको सुधारिएको धुवाँरहित चुलो वितरण अभियानलाई निरन्तरता दिएको छ।

संस्थाले आज राप्ती नगरपालिका–८ को सिफारिसमा आवश्यकतामा रहेका परिवारलाई १५० वटा सुधारिएको धुवाँरहित चुलो वितरण गरेको छ। संस्थाका अध्यक्ष ध्रुव गिरीका अनुसार वडा कार्यालयबाट थप ५०० वटा चुलो वितरणका लागि सिफारिस प्राप्त भएकाले समुदायको आवश्यकता पहिचान गरी ती चुलोसमेत क्रमशः वितरण गरिनेछ।
सपना भिलेज सोसियल इम्प्याक्टले विगत दुई वर्षदेखि सुधारिएको चुलो उत्पादन तथा वितरण गर्दै आएको छ। अध्यक्ष गिरीका अनुसार हालसम्म विभिन्न क्षेत्रका ग्रामीण तथा आवश्यकता रहेका परिवारलाई ६ हजार ५०० भन्दा बढी सुधारिएको चुलो वितरण भइसकेको छ।

राप्ती नगरपालिका–८ का वडाध्यक्षले ग्रामीण क्षेत्रमा सुधारिएको चुलोको माग निरन्तर बढिरहेको बताउनुभयो। विशेषगरी दाउरामा निर्भर परिवारबाट चुलोको माग बढ्दै गएको उहाँको भनाइ छ। स्थानीय तहको सिफारिस तथा समुदायको आवश्यकताका आधारमा लक्षित परिवार छनोट गरी चुलो वितरण गर्दै आएको संस्थाले जनाएको छ।
सुधारिएको चुलोको प्रयोगबाट घरभित्र हुने धुवाँमा कमी आउनुका साथै दाउराको खपत घट्ने, खाना पकाउन लाग्ने समय तथा श्रम बचत हुने र वातावरण संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। यसबाट विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने संस्थाको विश्वास छ।

एलपी ग्यासको मूल्य तथा आपूर्तिमा समय–समयमा देखिने समस्या र ग्रामीण क्षेत्रमा यसको सहज पहुँचको अभावलाई ध्यानमा राख्दा दाउरामा निर्भर परिवारका लागि सुधारिएको चुलो व्यवहारिक विकल्प बन्न सक्ने अध्यक्ष गिरीले बताउनुभयो। “सुधारिएको चुलो केवल खाना पकाउने साधन मात्र नभई ग्रामीण परिवारको स्वास्थ्य, दाउराको बचत र वातावरण संरक्षणसँग जोडिएको सामाजिक अभियान हो,” अध्यक्ष गिरीले भन्नुभयो, “समुदायको आवश्यकता र स्थानीय तहको सिफारिसका आधारमा आगामी दिनमा अभियानलाई थप गाउँ तथा समुदायसम्म विस्तार गर्दै लैजानेछौँ।”
सपना भिलेज सोसियल इम्प्याक्टले स्वास्थ्य, वातावरण संरक्षण तथा दिगो विकासलाई प्राथमिकतामा राख्दै सुधारिएको धुवाँरहित चुलोको उत्पादन तथा वितरण कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट