चितवन : भरतपुर महानगरपालिका आसपासका बस्तीमा बच्चासहित चितुवा देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ। चितुवा बस्ती आसपासका सामुदायिक वन तथा झाडी क्षेत्रमा घुम्न थालेपछि वन कार्यालय र वन्यजन्तु संरक्षणकर्मीले नियन्त्रणको प्रयास तीव्र पारेका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक तीर्थ लामाका अनुसार बस्तीमा देखिएको चितुवा बच्चासहित रहेकाले बाघबाट बच्चालाई जोगाउन सुरक्षित स्थानको खोजीमा मानव बस्ती आसपास प्रवेश गरेको हुनसक्छ।
पोथी चितुवाले आफ्ना बच्चालाई बाघसँगै भाले चितुवाबाट समेत जोगाउनुपर्ने हुन्छ। भाले चितुवाले अरू चितुवाका बच्चा तथा आफ्नै बच्चालाई समेत मार्ने जोखिम हुने भएकाले पोथीले बच्चा हुर्काउने क्रममा सुरक्षित स्थान खोज्ने लामाको भनाइ छ।
हाल नियन्त्रणमा लिइएको एउटा चितुवा करिब नौ महिनाको रहेको बताइएको छ। बस्ती आसपास अर्को माउ चितुवा र त्यसको बच्चा पनि रहेको हुनसक्ने वन्यजन्तु प्राविधिक लामाले बताए।
चितुवा सामान्यतया दुईदेखि तीन वर्षको उमेरमा वयस्क हुन्छ। माउले बच्चालाई करिब एकदेखि दुई वर्षसम्म हुर्काएपछि छुट्टै क्षेत्र बनाएर बस्न छाड्ने गर्छ। बच्चा हुर्काइसकेपछि चितुवा एउटै क्षेत्रमा सीमित भएर नबस्ने र यसको औसत आयु करिब १० वर्ष हुने बताइएको छ।
चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय, चितवनले विभिन्न प्रविधि प्रयोग गरिरहेको छ। कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार चितुवाको गतिविधि निगरानी गर्न ड्रोन र सीसी क्यामेरा प्रयोग गर्नुका साथै केज ट्रयापिङ र लेग ट्रयापसमेत प्रयोग गरिएको छ।
यसै क्रममा अविनाश पोल्ट्री फार्मनजिकको झाडीबाट एउटा चितुवाको बच्चालाई नियन्त्रणमा लिएर राष्ट्रिय प्रकृति संरक्षण कोषको जिम्मेवारीमा दिइएको छ। तर, माउ चितुवा अर्को बच्चासहित अझै बस्ती आसपास घुमिरहेको बताइएको छ।
वन्यजन्तु प्राविधिक लामाका अनुसार चितुवा रुख चढ्न सक्ने भएकाले नियन्त्रणमा लिन चुनौती हुने गरेको छ। बस्ती आसपास चितुवाको उपस्थितिका कारण स्थानीयवासीमा त्रास बढे पनि वन कार्यालयले जनधनको सुरक्षा तथा वन्यजन्तुको संरक्षणलाई ध्यानमा राख्दै नियन्त्रणका लागि आवश्यक सबै प्रयास जारी राखेको जनाएको छ।
चितुवा प्रायः गाउँबस्ती तथा सामुदायिक वन आसपास बस्ने र कुकुरलगायत साना जनावरको सिकार गर्ने गर्छ। वन कार्यालयले स्थानीयवासीलाई सतर्क रहन तथा चितुवा देखिएमा आफैँ नियन्त्रणमा लिन खोज्नुको सट्टा सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij