चितवन : ग्यासको अभावका कारण खाना पकाउन समस्या भोगिरहेका विद्यार्थी, कर्मचारी तथा मजदुरलगायतलाई लक्षित गर्दै चितवन मेडिकल कलेज परिसरस्थित क्यान्टिनले सहुलियत दरमा खाना खुवाउन थालेको छ।
चितवन मेडिकल कलेज परिसरमा रहेको फ्राइन्डस रेष्ट्रोले नियमित रूपमा रु. १५० मा उपलब्ध गराउँदै आएको सादा खाना ग्यास अभावका कारण समस्यामा परेकालाई रु. १०० मै उपलब्ध गराउन थालेको सञ्चालक कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो।
एक सिलिन्डर मात्र प्रयोग गर्ने उपभोक्ताले ग्यास सकिएपछि तत्कालै भर्न नपाउँदा खाना पकाउन समस्या भइरहेको भन्दै त्यस्ता नागरिकलाई राहत दिने उद्देश्यले सहुलियतमा खाना खुवाउन थालिएको ढकालले बताउनुभयो।
यसैबीच, ग्यासको अभावलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले क्लस्टरका आधारमा दैनिक ग्यास बिक्रीको व्यवस्था मिलाएको छ। अत्यावश्यक पर्ने नागरिकलाई सम्बन्धित वडामा नाम टिपाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो।
प्रशासनका अनुसार दैनिक करिब ८ हजार सिलिन्डर क्लस्टरका आधारमा बिक्री भइरहेको छ। प्रशासनको टोल फ्री नम्बरमा सम्पर्क गरेर हालसम्म ९९८ जनाले ग्यास लगिसकेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो।
आउँदो शुक्रबारदेखि केन्द्रीय बसपार्कबाट समेत क्लस्टरका आधारमा ग्यास बिक्री गर्ने व्यवस्था मिलाउन लागिएको प्रशासनले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij