Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

जेनजी आन्दोलनका क्रममा भागेका युवा २ अभियोगमा फेरि पक्राउ

जेनजी आन्दोलनका क्रममा भागेका युवा २ अभियोगमा फेरि पक्राउ

काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले न्युरोडमा लुटपाट र गोँगबुमा एटिएम मेसिन तोडफोड गरेको अभियोगमा एक २१ वर्षीय युवालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-८ घर भई हाल काठमाडौँको असन बस्ने सविन नेपाली रहेका छन्। प्रहरीका अनुसार नेपालीले यही वैशाख ९ गते राति न्युरोडको रामघाट गल्लीमा एक व्यक्तिलाई कुटपिट गरी लुटपाट गरेको आरोप छ। उक्त घटनाको भोलिपल्टै वैशाख १० गते मध्यरातमा उनले गोँगबु चोकस्थित ग्लोबल आईएमई बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोग छ। 

घटनाको अनुसन्धानमा खटिएको अपराध अनुसन्धान कार्यालय र नयाँ बसपार्क शाखाको टोलीले उनलाई वैशाख १० गते नै सामाखुसीबाट नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा पक्राउ परेका सविन नेपालीको पुरानो आपराधिक पृष्ठभूमि समेत खुलेको छ। उनी यसअघि २०८० भदौमा साइबर अपराधको मुद्दामा पक्राउ परी दुई महिना बाल सुधार गृह ठिमीमा बसेका थिए।

त्यस्तै, २०८२ साउनमा चोरीको कसुरमा मुद्दा दर्ता भएपछि उनी प्रहरी वृत्त जनसेवाको हिरासतमा रहेका थिए। तर, भदौ २४ गते 'जेनजी' आन्दोलनको क्रममा सिर्जना भएको परिस्थितिको फाइदा उठाउँदै उनी हिरासतबाटै फरार भएका थिए। 

झण्डै आठ महिनापछि उनी पुनः अर्को अपराधमा संलग्न रहेको अवस्थामा फेला परेका हुन्। पक्राउ परेका नेपालीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट