काठमाडौँ : संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल विजयी भएको छकीर्तिपुरस्थित त्रिवि मैदानमा यूएईले नेपाललाई जितका लागि १२९ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले १५.५ ओभरमै मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
नेपालको जितमा कुशल भूर्तेल नायक बने। उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेले। त्यस्तै कुशल मल्लले १९ रन बनाए भने सन्तोष यादव १ रनमा आउट भए।कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्याए।
यूएईका नीलांश केसवानी र मुहम्मद अरफानले समान १–१ विकेट लिए। त्यसअघि ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो।
यूएईका लागि अक्षदीप नाथले अविजित ५३ रन र मुहम्मद अरफानले ३२ रन बनाएका थिए।
नेपालका बलर सन्दीप लामिछानेले ४ ओभरमा मात्र ६ रन दिएर ३ विकेट लिए। हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र शाहब आलमले समान १–१ विकेट लिए।
दुई खेलको उक्त सिरिजमा दुबै टोलीले एक एक खेल आ-आफ्नो पक्षमा पारे। हिजो भएको पहिलो खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij