काठमाडौँ : नेपाली कांग्रेसबाट दाङ–१ का प्रत्यक्षतर्फ उम्मेदवार थिए सहमहामन्त्री योगेन्द्र चौधरी ।
तर, उनका सहोदर दाइ सुरेन्द्र चौधरी भने उनको विरुद्धमा थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सूचीमा समेटिएका सुरेन्द्रले भाइलाई हराएर त्यो क्षेत्रका रास्वपा उम्मेदवार देवराज पाठकलाई जिताउन भरमग्दुर प्रयास गरे । सुरेन्द्रको प्रयासले सार्थकता पायो । योगेन्द्र रास्वपा उम्मेदवार पाठकसँग पराजित भए । पाठक ४२ हजार ६०२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी बनेका योगेन्द्रले १५ हजार २८० मत ल्याए । आफ्नो विरुद्ध आफ्नै दाइले सार्वजनिक धारणा व्यक्त गरेको योगेन्द्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘तपाईंको भाइ हुनु मेरो दोष होइन र थिएन । त्यसै पनि राजनीति कसैको दाइ र भाइको नाताले गरिने विषय पनि होइन । तपाईंलाई राजनीतिक दल चुन्ने तपाईंको स्वतन्त्रताको कुरा हो । यही स्वतन्त्रताको वकालत गर्ने दल नेपाली कांग्रेसको एउटा सिपाही हुँ । तर तपाईंले निर्वाचनको बेला मेरो सहोदर भाइ योगेन्द्र चौधरीको विरुद्धमा छु भन्ने भाषण गरेर भाइरल हुने माध्यम बनाउनुभयो । जब कि निर्वाचनमा दाइ र भाइको विषय नै थिएन । बहस त एजेन्डाको हुनुपर्थ्यो विचारको हुनुपर्थ्यो,’ योगेन्द्रले फेसबुकमा लेखेका छन् । रास्वपाले आइतबार समानुपातिक सांसद बनाउनका लागि बनाएको अन्तिम सूचीमा थारु क्लस्टरमा सुरेन्द्रको नाम परेको छ । आफूलाई हराउन लागेका दाइ समानुपातिक सांसदमा पर्ने भएपछि भाइ योगेन्द्रले बधाइ पनि दिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij