Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

काठमाडौँ–तराई/मधेस द्रुतमार्गको ५१ प्रतिशत निर्माण सम्पन्न

काठमाडौँ–तराई/मधेस द्रुतमार्गको ५१ प्रतिशत निर्माण सम्पन्न

हेटौँडा  : नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं–तराई/मधेस द्रुतमार्गको ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो तीन हजार ४५४ मिटरको महादेवटार सुरुङमार्गको दुवैतर्फका सुरुङ जोड्ने (ब्रेकथ्रु) कार्यक्रममा आज आयोजना प्रमुख सहायक रथी भरतलाल श्रेष्ठले आयोजनाको हालसम्मको भौतिक प्रगति ५१ प्रतिशत पुगेको जानकारी दिए ।

राष्ट्रिय गौरवको यस रणनीतिक महत्त्वको आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले पाएपछि निर्माण कार्यलाई तीव्रता दिइएको उनले बताए ।

उनका अनुसार विगतमा विभिन्न चरणमा निर्माण प्रभावित भए पनि अहिले ललितपुरको खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी केही समस्या बाँकी छन् । उक्त ६.५ किलोमिटर खण्डको समस्या समाधानका लागि पहल भइरहेको र समाधान भएपछि ठेक्का व्यवस्थापनको प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेकाले आगामी दिनमा थप प्रगति हासिल हुने उनको भनाइ थियो ।

नेपाली सेनाका अनुसार आयोजनाअन्तर्गत सात स्थानमा निर्माण भइरहेका १४ वटा सुरुङमध्ये धेद्रे, लेनडाँडा र महादेवटारका छवटा सुरुङ खन्ने काम सम्पन्न भएको छ । अन्य चार स्थानका आठवटा सुरुङ निर्माणाधीन छन् ।

ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदूत, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी तथा परामर्शदाता र निर्माण व्यवसायीका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट