काठमाडौं : नेपाल प्रिमियर लिगमा चितवन राइनोजले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराएको छ। काठमाडौंलाई हराएसँगै चितवनले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग बिहिबार क्वालिफायर खेल्ने भएको हो।
२०५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले जम्मा १४३ रन बनाउन सक्यो। काठमाडौंका लागि विलियम बसिस्टो सर्वाधिक ३७ रन बनाउँदा भीम सार्कीले ३० रनको पारी खेले। त्यस्तै, सहान अराच्चिगे २४, रसिद खान १२ र सन्तोष यादवले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
चितवनका लागि रिजन ढकालले सर्वाधिक चार विकेट लिए भने उसमा मिरले तीन विकेट लिए। सलाहुद्दिन खान र कुशल मल्लले समान एक एक विकेट लिए। त्यसअगाडि टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले ४ विकेट गुमाएर २०४ रन बनायो।
चितवनका लागि कमिल मिशाराले मात्र ५९ बलमा अविजित १२० रन प्रहार गरे। यसमा पाँच चौका र दश छक्का समावेश छ। यससँगै मिशाराले एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
यसअघि स्कटिस अलराउन्डर मार्क वाटले सन् २०२५ मा कर्णाली याक्सका लागि लुम्बिनी लायन्सविरुद्ध बनाएको अविजित ११४ रन नै एनपीएलको सर्वाधिक व्यक्तिगत स्कोर थियो।
त्यस्तै, जारी लिगमा यो दोस्रो शतक हो। यसअघिका जारी लिगमा पोखरा एभेन्जर्समा युवराज सम्राले १०२ रनको पारी खेलेका थिए।
चितवनको सुरुवात भने निकै कमजोर रहेको थियो। चौथो ओभरमा काठमाडौंका कप्तान करण केसीले चितवनका देव खनाल १७ रन र डेविड मलान शून्य रनमै पभेलियन फर्काइदिए। कप्तान रवी बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रनको महत्त्वपूर्ण अर्धशतकीय इनिङ्स खेले।
त्यसपछि विवेक यादवले ३ बलमा २ चौकासहित ८ रन जोडेर आउट हुँदा कुशल मल्ल शून्य रनमा अविजित रहे। काठमाडौंका लागि करण केसी र रसिद खानले समान २-२ विकेट लिए। काठमाडौं यो पराजितसँगै प्रतियोगितामा चौथो हुँदै बाहिरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij