Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

लंकुमा हुने लक्ष्मीवैकुण्ठनाथ ब्रह्ममहोत्सवको तयारी पूरा

लंकुमा हुने लक्ष्मीवैकुण्ठनाथ ब्रह्ममहोत्सवको तयारी पूरा

 चितवन, धर्मचोक : लंकुस्थित श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिरको ५१ औँ वार्षिकोत्सव तथा मन्दिरद्वारा सञ्चालित श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् अर्थात् गुरुकुलको ३८ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको सप्तदिवसात्मक श्रीलक्ष्मीवैकुण्ठनाथ ब्रह्ममहोत्सव–२०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।

 

आयोजक समितिका अनुसार फागुन ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत विविध धार्मिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरू समावेश गरिएका छन्। फागुन ११ र १२ गते गुरुकुलका विद्यार्थीहरूद्वारा प्रतियोगितात्मक शारीरिक तथा बौद्धिक प्रतिभा प्रस्तुति कार्यक्रम सञ्चालन गरिनेछ। फागुन १३ गते विष्वक्सेन आराधना, पुण्याहवाचन, मृदाहरण, अङ्कुरारोपण तथा ध्वजारोहण गरिनेछ भने फागुन १४ गते पाठ आरम्भ, अभिषेक तथा अग्निस्थापना कार्यक्रम रहनेछ। फागुन १५ गते गुरुकुलको वार्षिकोत्सव समारोह आयोजना गरिने गुरुकुल सञ्चालक समितिका अध्यक्ष कमलनयन कँडेलले जानकारी दिनुभयो।

 

त्यसैगरी, फागुन १६ गते भगवान्को सवारी / रथयात्रा गरिनेछ भने फागुन १७ गते १०८ घडाद्वारा तिरुमञ्जन अर्थात् महाभिषेक, कल्याणोत्सव तथा तदीयाराधना / भण्डारा कार्यक्रम सम्पन्न गरिनेछ। महोत्सवअन्तर्गत फागुन १४, १५ र १६ गते साँझ ६ बजेदेखि शृङ्गार महाआरतीसहित सुप्रसिद्ध कलाकारहरूद्वारा साङ्गीतिक भजन प्रस्तुत गरिने मन्दिर सञ्चालक समितिका सहसचिव श्रीहरि कँडेलले बताउनुभयो। यसैगरी महोत्सवमा दैनिक बिहान ५ बजेदेखि ११ बजेसम्म भगवद् आराधना, वेद–पुराण पारायण, तिरुमञ्जन तथा हवन हुनेछन् भने दिउँसो १२ बजेदेखि ३ बजेसम्म विशिष्ट धर्माचार्य, मठाधीश तथा विद्वान्–विदुषीहरूबाट प्रवचन कार्यक्रम सञ्चालन गरिनेछ। लक्ष्मीवैकुण्ठनाथ मन्दिर तथा गुरुकुलम् सञ्चालक तथा व्यवस्थापन समितिले सम्पूर्ण श्रद्धालु भक्तजन, धार्मिक आस्थावान् समुदाय तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई पुण्यलाभ गर्न हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट