भरतपुर : वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको उपनिर्देशकमा मेडिकल अंकोलोजी विभागका विभागीय प्रमुख तथा कन्सल्टेन्ट डा. गुरुशरण साह नियुक्त हुनुभएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यको सिफारिसमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. योगेन्द्रप्रसाद सिंहले डा. साहलाई उपनिर्देशक पदमा नियुक्त गर्नुभएको हो ।अस्पतालमा कार्यरत कन्सल्टेन्ट विभागीय प्रमुख वा सिनियर कन्सल्टेन्टमध्येबाट उपनिर्देशक नियुक्त गर्ने व्यवस्थाअनुसार डा. साहलाई उक्त जिम्मेवारी दिइएको हो । विगत १३ वर्षदेखि डा. साह वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत हुनुहुन्छ । अस्पतालको मेडिकल अंकोलोजी विभागको नेतृत्व गर्दै आउनुभएका डा. साह अब अस्पतालको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्वमा समेत जोडिनुभएको छ ।
डा. साह चिकित्सा तथा क्यान्सर उपचारसम्बन्धी व्यावसायिक संस्थाहरूमा समेत सक्रिय हुनुहुन्छ । नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा समेत डा. साहले काम गरिसक्नुभएको छ । त्यसैगरी नेपाल मेडिकल अंकोलोजी सोसाइटीको महासचिव तथा सार्क फेडेरेसन अफ अंकोलोजिस्ट्स–नेपालको उपाध्यक्षका रूपमा पनि उहाँ आबद्ध रहनुभएको छ ।उपनिर्देशकको जिम्मेवारीसँगै अब डा. साहले अस्पतालको चिकित्सकीय सेवा, विभागीय समन्वय, जनशक्ति व्यवस्थापन तथा संस्थागत कार्यसम्पादनलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने बताउनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij